धनगढी: बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन् । प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी बझाङको जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

