धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेतृत्वको पदमोह र कम्युनिस्ट आचरण नभएकाले कम्युनिस्टहरू कमजोर अवस्थामा आइपुगेको बताएका छन् । उनले गत वर्षको जेन–जी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरूले ससम्मान बिदाइ भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
शनिबार बुटवलमा आयोजना गरिएको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले मुलुक गम्भीर संकटमा गुज्रिएकाले अब शीर्ष भनिएका नेताहरूले विगतको गल्ती सच्याउँदै कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने बताए । ‘मानिस कति पटक प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ रु’ उनले भने, ‘वैचारिक र संगठनात्मक रूपमा नेताहरू, तपाईंहरूको योगदान, त्याग देखियो, अब ससम्मान बिदाइ हुनुस् भनेर भन्नुपर्छ ।’
उनले आफू वामपन्थी शक्ति बलियो बनाउनका लागि बुटवलबाट साथीहरूले प्रस्ताव गरे यही हस्ताक्षर गर्न तयार रहेको बताए । नेता रावलले विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछि नेतृत्वले गरेको अकर्मण्यताका कारण कम्युनिस्ट पार्टीहरूप्रति जनताको समर्थन घटेको बताए ।
उनले सुकुम्बासी, मजदुर र किसानका आवाज मुखरित गर्नुपर्नेमा जोड दिए । ‘आज जनताले आफ्ना वास्तविक मुद्दा, आवाज र अवस्था सुधार्ने राजनीतिक शक्ति खोजेको छ’, रावलले भने, ‘अहिलेको सरकारले गरेका जनविरोधी र राष्ट्रघाती कामको भण्डाफोर गर्नुपर्ने बेला आएको छ । राष्ट्रिय अखण्डता र भौगोलिक रक्षाका लागि वामपन्थी शक्तिहरू उठ्नुपर्ने बेला आएको छ ।’ पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रावलले अहिले नेपालको राष्ट्रियता, स्वाधीनता खतरामा रहेको बताए । प्रधानमन्त्रीले सार्वभौम संसदमा उभिएर नेपालले भारतको सीमा मिचेको छ भनेर अभिव्यक्ति दिनु, मुस्ताङको युरेनियम अमेरिका र अस्ट्रेलियामा डाटा सेन्टर स्थापनाको नाममा बुझाउने जस्ता सम्झौता हुनुले गम्भीर खतरा उत्पन्न गराएको बताए ।
उनले अब वामपन्थी, देशभक्त शक्तिहरू एकजुट हुनैपर्ने बेला आएको बताए । आत्मसमीक्षा गर्दै अब मुलुक र जनताको दीर्घकालीन हितका लागि कम्युनिस्टहरूबीच वैचारिक एकता र सहकार्यको खाँचो रहेको उनले बताए । यस्तै, नेकपाका अर्का नेता चक्रपाणी खनालले वर्तमान सरकारका विरुद्ध कम्युनिस्ट पार्टीहरूबीच एकतासँगै संघर्षमा उत्रनुपर्ने बेला आएको बताए । उनले स्व। मदन भण्डारी र प्रचण्ड स्कुलिङबाट आएकाहरूबीच पुनः एकता र सहकार्य गर्दै आवश्यक परे दिनभरिमा शासन उल्ट्याउने गरी आन्दोलनको तयारीमा जुट्नुपर्ने हुनसक्ने बताए ।

