काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै संगठनका सम्पूर्ण संरचना परिचालन गर्ने निर्णय गरेको छ। विपद्को गम्भीर अवस्थाका कारण यसअघि असोज ३ र ४ गतेका लागि तय गरिएको संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १९ र २० गते काठमाडौंमै गर्ने निर्णय गरिएको छ संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।
संगठनको सचिवालय बैठकले महाधिवेशनको तयारीलाई निरन्तरता दिँदै तत्कालका लागि श्रमिकको जीवनरक्षा, बेपत्ताको खोजी, प्रभावित परिवारलाई राहत तथा यातायात क्षेत्रको पुनःस्थापनामा संगठनको शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो । देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोले सडक, पुल र यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याउँदा यातायात सञ्चालन प्रभावित भएको छ। विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा यातायात श्रमिक, चालक, सहचालक तथा उनीहरूका परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको संगठनले जनाएको छ।
संगठनको प्रारम्भिक अध्ययन अनुसार भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट मात्रै ५६३ जना यातायात श्रमिक प्रभावित भएका छन्। बाढीबाट ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएको र करिब ५०१ जना श्रमिक सम्पर्कविहीन रहेको संगठनले जनाएको छ । एक जनाको मृत्यु निश्चित भएको र १७ जना श्रमिक सम्पर्कमा आएका छन् । विवरण संकलन र खोजी कार्य अझै जारी रहेकाले प्रभावित तथा सम्पर्कविहीन श्रमिकको संख्या बढ्न सक्ने संगठनले जनाएको छ ।
बाढीपछि संगठनको अरनिको रुट ट्रक इकाई कमिटीका पूर्वअध्यक्ष दुर्गाराम श्रेष्ठ तथा धादिङका पूर्व जिल्ला अध्यक्ष छबिलाल श्रेष्ठ समेत बेपत्ता रहेको संगठनले जनाएको छ । बेपत्ता श्रमिकको शीघ्र खोजी तथा उद्धार गर्न र विपद्मा हराइरहेका नागरिक तथा श्रमिकको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न संगठनले सरकारसँग माग गरेको छ ।
१०१ सदस्यीय उद्धार समिति गठन
विपद् प्रभावित श्रमिकको खोजी, उद्धार, तथ्यांक संकलन, राहत तथा पुनःस्थापनालाई व्यवस्थित बनाउन संगठनले अध्यक्ष भीमज्वाला राईको नेतृत्वमा १०१ सदस्यीय विपद् व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ । त्यसैगरी केन्द्रीय तहमा उपाध्यक्ष नवराज घिमिरेको संयोजनमा विपद् समन्वय डेस्क स्थापना गरी देशभरबाट प्रभावित तथा बेपत्ता श्रमिकको विवरण संकलन र अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।
संगठनले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित, घाइते, बेपत्ता, मृत्यु भएका तथा विस्थापित श्रमिक र उनीहरूका परिवारको विवरण तत्काल संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता श्रमिक तथा यात्रुको खोजी र उद्धारमा सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ।
‘विपद् राहत तथा सहयोग अभियान’ सञ्चालन
प्रभावित श्रमिक र परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि, अस्थायी आवासलगायत आवश्यक सामग्री उपलब्ध गराउन ‘यातायात श्रमिक विपद् राहत तथा सहयोग अभियान’ सञ्चालन गरिने संगठनले जनाएको छ। यसका लागि संगठनको विद्यमान राहत संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै केन्द्रीय कमिटीले विपद् राहत कोष सञ्चालन गर्ने निर्णय गरिएको छ। प्रदेश तथा मातहतका कमिटी, शुभेच्छुक र सहयोगीबाट प्राप्त सहयोग पारदर्शी रूपमा प्रभावित श्रमिकको राहत तथा पुनःस्थापनामा खर्च गरिने संगठनले जनाएको छ। विपद् प्रभावित श्रमिकको क्षतिपूर्ति, सामाजिक सुरक्षा, पुनःस्थापना तथा रोजगारीमा फर्किने वातावरण निर्माणका लागि नेपाल सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग औपचारिक रूपमा माग राख्ने निर्णय पनि बैठकले गरेको छ ।
मंसिरमा महाधिवेशन
विपद्का कारण महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन भए पनि संगठनले महाधिवेशनको तयारीलाई निरन्तरता दिने निर्णय गरेको छ। मंसिर १९ र २० गते काठमाडौंमा १२ औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गर्दै यसअघि तय गरिएको प्रदेशगत प्रतिनिधि कोटा, दायित्व तथा प्रतिनिधि शुल्कसम्बन्धी व्यवस्था यथावत् राखिएको छ। महाधिवेशनमा प्रस्तुत हुने नीतिगत प्रतिवेदन प्रदेश कमिटीमा पठाई छानिएका प्रतिनिधिबाट सुझाव संकलन गर्ने निर्णयसमेत गरिएको छ।
यातायात ऐनमा खबरदारी
बैठकले प्रस्तावित सवारी तथा यातायात ऐन २०८३मा संगठनले सरकारसमक्ष प्रस्तुत गरेको संशोधन सुझाव कार्यान्वयन गराउन प्रदेश कमिटीमार्फत खबरदारी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ। संगठनले अहिलेको प्राथमिकता केवल महाधिवेशन आयोजना गर्नु नभई विपद्मा परेका श्रमिकको जीवन बचाउनु, बेपत्ताको खोजी गर्नु, प्रभावित परिवारलाई साथ दिनु र यातायात क्षेत्रलाई पुनः सञ्चालनको अवस्थामा पुर्याउनु रहेको स्पष्ट गरेको छ।
संगठनका अनुसार महाधिवेशनको तयारी र विपद् व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाउँदै ८८‘श्रमिकको जीवनरक्षा पहिलो प्राथमिकता, संगठन सुदृढीकरण निरन्तर अभियान’८८का रूपमा आगामी गतिविधि सञ्चालन गरिनेछ।

