धनगढी । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा अहिलेसम्म ७३४ जनाको शव फेला परेको हो।
यो तथ्यांक आइतबार बिहान ९ बजेसम्मको हो। प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ जनाको शव भेटिएको हो।
बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या २ हजार ४९८ पुगेको छ।
नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छ।
त्यस्तै रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन्। मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी २४२ जना घाइते भएका छन्। अहिले बाढी प्रभावित क्षेत्रमा सर्जिकल र मेडिकल टिम परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। जसमध्ये नेपाली सेनाले २ हजार ९७४ जना, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार ५१३ जनाको उद्धार गरेको छ।
जलविद्युतको सुरूङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। हालसम्म २२७ जना विदेशी नागरिकलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
पहिचान नभएका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको पनि प्राधिकरणले जनाएको छ। आइतबार बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार २९३ जना, नेपाली सेनाका ८ हजार ३९९ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना गरी १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालना गरिएको छ।

