धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन भएका कैलालीका १९ जना सम्पर्कमा आइसकेका छन् । बाढीका कारण केही दिनदेखि सम्पर्कविहीन भएका जिल्लाका ८२ जना मध्ये १९ जना सम्पर्कमा आइ उद्धार भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो ।
६३ जना अझै सम्पर्कविहीन रहनुभएको उहाँले बताउनुभयो । कार्यालयले कोही कतै थप सम्पर्कविहीन वा सम्पर्कमा आउनुभएको भए सोको विवरण यस कार्यालयको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ०९१(५१७०५ वा १२३४ मा वा नजिकको प्रहरी कार्यालयमा सूचना वा जानकारी गराइदिन हुन अनुरोध गरेको छ ।
साथै बाढीपीडितका लागि कुनै जिन्सीरवस्तु राहत प्रदान गर्न इच्छुक सहयोगी व्यक्ति तथा संस्थाले सम्बन्धित स्थानीय पालिका वा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखामा सम्पर्क गर्न वा गराउनु हुन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

