धनगढी: रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका २८ जना सम्पर्कमा आएका छन् । बाढीपछि लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका उनीहरू सम्पर्कमा आएका हुन् । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार सम्पर्कमा आउनेमा कैलालीका १८ जना, कञ्चनपुरका नौ जना र डडेल्धुराका एक जना रहेका छन् । उनीहरू सुरक्षित अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘कतिपय घाइतेको विभिन्न अस्प्तालमा उपचार भइरहेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले भने ।
उनका अनुसार बाढीपछि सुदूरपश्चिमबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका थिए । विभिन्न माध्यमबाट खोजी तथा सम्पर्कको प्रयास भइरहेका बेला केही व्यक्तिहरू परिवारको सम्पर्कमा आएका हुन् । तर, अझै पनि सुदूरपश्चिमका १४२ जना सम्पर्कविहीन रहेको एसएसपी विष्टले जानकारी दिए । सम्पर्कविहीन हुनेमा विभिन्न जिल्लाका नागरिक रहेका छन् ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि त्यहाँ विभिन्न काम तथा रोजगारीका सिलसिलामा पुगेका सुदूरपश्चिमका नागरिकसमेत प्रभावित भएका हुन् । प्रदेश प्रहरीले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन गर्दै बाँकी सम्पर्कविहीनको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

