धनगढी । कैलालीको अत्तरियामा भएको दुर्घटनामा मृत्यु भएकी सिन्की बोहराका आफन्तले अत्तरियामा चक्काजाम गर्ने घोषणा गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले न्याय र क्षतिपूर्तिका लागि बेवास्ता गरिएको भन्दै अत्तरियामा बजारमा भोलि ९बुधवार० बिहानदेखि चक्काजाम गर्ने घोषणा गरेका हुन ।
मृतकका भतिजा शिवराज बोहराले ३ दिन देखि माग राख्दा पनि बेवास्ता गरिएको बताए । बझाङको मस्टा गाउँपालिका ६ का वडाध्यक्ष समेत रहेका उनले सहमति नभएमा बिहान देखि अत्तरिया बजारमा चक्काजाम गर्ने बताए । उनले शान्तिपूर्ण रूपमा चक्काजाम गर्ने बताउँदै उनले पीडित पक्षले न्याय र क्षतिपूर्ति नपाउँदा सम्म जारी रहने बताए ।
उनले गाडीको अगाडीको भागमा ठोक्किएर ढलेपछि पछाडिको टायरले किचेर मारिएको भन्दै न्याय नपाउँदा सम्म आफूहरू सङ्घर्षका कार्यक्रम गर्ने बताए । उनले श्रीमान् सहित ४ जनाको परिवारको पालनपोषण गरिरहेकी सिन्की बोहराको मृत्युले परिवारमा पुगेको क्षतिपूर्ति पिडकले दिनुपर्ने बताए ।

आइतबार महेन्द्रनगरबाट यात्रु लिएर दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले बझाङ मस्टा घर भई हाल अत्तरिया बसोबास गर्दै आएकी ५३ वर्षीय सिन्की बोहरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीय र आफन्तले न्याय र क्षतिपूर्तिको माग गर्दै आइतबार साँझ देखि नै अत्तरिया बजारमा विरोधका कार्यक्रम गरिरहेका छन् । पीडित पक्ष र यातायात व्यवसायी बिच पटक पटक छलफल भए पनि सहमति भने हुन सकेको छैन ।

