कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा निजामती कर्मचारी आवासीय विद्यालयको आफ्नै भवन निर्माण भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा निजामती कर्मचारीको आवासीय विद्यालयको आफ्नै भवन निर्माण भएको हो। पश्चिम नेपालमा निजामती कर्मचारीको डोटी र कोशी प्रदेशको धनकुटामा मात्रै निजामतीको आवासीय विद्यालय रहेका छन्।
०७३ सालतिर सुदूरपश्चिममा स्थापना भएको निजामती विद्यालयको एक दशक अर्थात् १० वर्षमा आफ्नै शैक्षिक भवन निर्माण भएको जनाएको छ। ८ भदौ ०८३ (सोमबार) एक कार्यक्रमबिच निजामती विद्यालय भवनको उद्घाटन गरिएको छ।सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले विद्यालय भवनको उद्घाटन गर्दै प्रदेशमै नमुना विद्यालय एक मात्रै भएकाले यस क्षेत्रका निजामती कर्मचारीका सन्तानका लागि सुविधा पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शिक्षा महानिर्देशक विष्टले छात्रछात्राको आवाससहित दुईतले शैक्षिक भवन सञ्चालनमा आएसँगै अब पठनपाठनमा सुविधा पुग्ने बताए । यसअघि तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको पुरानो भवनमा रहेको विद्यालय अब आफ्नै भवनमा सरेपछि विद्यार्थीलाई थप सुविधा भएको छ ।
हाल कक्षा ६ देखि १० सम्म पठनपाठन हुने उक्त विद्यालयले आगामी दिनमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। विद्यालय भवन उद्घाटन कार्यक्रममा शिक्षक, कर्मचारी, शिक्षा निर्देशनालयका कर्मचारी, अभिभावकसहितका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

