धनगढी । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरेको छ। यहाँको स्याउ भदौ १५ गतेपछि पाक्न सुरु हुने भए पनि केही किसानले अहिले नै काँचो स्याउ टिपेर बिक्री गर्न थालेका छन्।
काँचो स्याउ बिक्री गर्दा फलको गुणस्तर घट्ने, टिकाउपन कम हुने तथा बजारमा बाजुराको स्याउको छवि प्रभावित हुने भएकाले पालिकाले किसानलाई समयअघि स्याउ नटिप्न अनुरोध गरेको हो।
स्याउ उत्पादनका लागि परिचित यस पालिकाका बगैंचामा अहिले स्याउ लटरम्म फलेका छन्। तर अधिकांश स्याउ अझै पाकिसकेका छैनन्। यद्यपि केही किसानले नपाक्दै टिपेर बिक्री गर्न थालेको पाइएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
पछिल्ला वर्षमा यहाँका अधिकांश किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन्। यहाँ उत्पादन हुने स्याउ स्वादिलो र गुणस्तरीय भएकाले नेपालगन्ज, काठमाडौँ, धनगढीलगायतका सहरमा यसको माग बढ्दै गएको छ।
गत वर्ष यहाँबाट दुई–चार ट्रक स्याउ नेपालगन्ज, काठमाडौँ र धनगढी पठाइएको थियो। त्यसबाट स्थानीय किसानले लाखौँ रुपियाँ आम्दानी गरेका थिए। स्याउ बजारसम्म पुर्याउन कृषि ज्ञान केन्द्रसँग ढुवानी अनुदानका लागि समन्वय गरिएको अध्यक्ष रोकायाले बताए ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दा गाउँपालिकामा स्याउ राम्रो उत्पादन हुने गरेको छ।
गत आर्थिक वर्ष २०८२ र ८३ मा जिल्लामा १,६०० देखि १,८०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष पनि सोही हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ।
गत वर्ष करिब ७०० क्विन्टल स्याउ बाहिर बिक्री हुँदा किसानले करिब ८० देखि ९० लाख रुपियाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताए ।

