धनगढी : डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्षको निरन्तर उपचारपछि धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट घर फर्किएकी छन्।
वि.सं. २०८१ साउन ३१ गते घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी लिम्बुलाई प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई धनगढीस्थित निसर्ग हस्पिटलमा रिफर गरिएको थियो।
अस्पतालमा भर्ना भएको भोलिपल्ट २०८१ साउन ३२ गते पहिलो शल्यक्रिया गरिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्थाअनुसार दुईवटा मेजर तथा माइनर शल्यक्रियासहित विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा सघन उपचार, नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।
लगातार उपचारपछि लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। उनी २०८३ असार ३२ गतेसम्म १ वर्ष ११ महिना १ दिन अस्पतालमा उपचाररत रहेर स्वास्थ्य पुनर्स्थापनाको लामो यात्रा पूरा गरेकी हुन्।
उपचारका क्रममा ठूलो आर्थिक भार परे पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ।
अस्पतालका अध्यक्ष तिर्थराज पन्तका अनुसार यो निर्णय स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको भावनाअनुरूप गरिएको हो। यस्तै, अस्पतालबाट घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालले उनलाई एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप उपलब्ध गराएको छ।
अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, सञ्चारकर्मी तथा उपचार अवधिभर साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ तथा मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

