कञ्चनपुर: सीप, सामूहिकता र मेहनतको संयोजनले कृषि समृद्धिको भरपर्दो आधार बन्न सक्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रस्तुत गरेको छ। सहकारीले सञ्चालन गरेको व्यावसायिक अग्र्यानिक लौकाखेतीले आम्दानीसँगै स्थानीय युवालाई रोजगारी दिनुका साथै सदस्यलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको हो।
सहकारीले १० कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरी रहेका छन् । यहाँ उत्पादित लौका सहकारीले दैनिक दुई क्विन्टलभन्दा बढी बेच्दै आएको छ। हालसम्म १२ क्विन्टलभन्दा बढी लौका बिक्री गरी रु ३६ हजार आम्दानी भएको सहकारीका प्रबन्धक ललिता पन्तले जानकारी दिए। उहाँका अनुसार स्थानीय बजारमा प्रतिकिलो रु ३० देखि रु ३२ सम्ममा सहजै बिक्री भइरहेको छ।
“प्राङ्गारिक मल र सुरक्षित विषादी प्रयोग गरी उत्पादन गरिएको लौकाको बजारमा माग बढी छ”, प्रबन्धक पन्तले भन्नुभयो । उनका अनुसार निड्ससँगको सहकार्यमा सञ्चालित कृषि पाठशालाले सहकारीका सदस्यलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न तालिमसँगै सीप विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। कृषि पाठशालामा माटो छनोट, खेत तयारी, बेर्ना उत्पादन, मल व्यवस्थापन, सिँचाइ तथा लहरे बाली व्यवस्थापनसम्बन्धी व्यावहारिक तालिम दिइएको थियो। सिकेको सीप व्यवहारमा उतारेपछि अपेक्षाभन्दा राम्रो उत्पादन प्राप्त भएको पन्तले बताए ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरले सदस्यहरूलाई आयआर्जनमुखी कृषिमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लौकाखेती सुरु गरिएको बताए। “राम्रो उत्पादन र आम्दानीपछि अन्य सदस्य पनि व्यावसायिक कृषि गर्न उत्साहित भएका छन्। गाउँमै बसेर कृषि व्यवसायमार्फत स्वरोजगार बन्न सकिने विश्वास बढेको छ”, उनले भने ।
लौकाखेतीका लागि सहकारीले दुई स्थानीय युवालाई रोजगारी पनि दिएको छ। बिक्रीबाट प्राप्त रकम सहकारीको कोषमा जम्मा गरी सदस्यको आयआर्जन बढाउने कार्यक्रममा लगानी गरिने अध्यक्ष ऐरले बताए । उनका अनुसार बारीमा अझै ४० देखि ६० क्वीन्टलसम्म लौका उत्पादन हुने अनुमान गरिएको छ।
यसअघि सहकारीले भाडाको एक बिघा क्षेत्रमा चैतेधान, एक बिघामा तोरी र १० कठ्ठामा आलुखेती गरी आम्दानी लिइसकेको छ।साथै सदस्यलाई सहुलियत मूल्यमा मलखाद, बीउविजन र कृषि सामग्री उपलब्ध गराउँदै आएको छ। नगरपालिकाको कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरका अनुसार सहकारीको यो अभ्यासले बचत तथा ऋण कारोबारमा सीमित नरही उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा सहकारीको प्रभावकारी भूमिका देखाएको छ। “सामूहिक प्रयास, सीप र आधुनिक कृषि प्रविधिको उपयोगबाट गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण सहकारीले प्रस्तुत गरेको छ”, उनले भने।

