कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेका छन्।
ऐरीले भारोत्तोलक अशोक भण्डारी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामीलाई पछि पार्दै ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका हुन्। कार्यक्रममा उनी उपस्थित हुन नसकेपछि उनको तर्फबाट क्रिकेटर शेर मल्लले अवार्ड ग्रहण गरेका थिए।
ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच खेलमा प्रत्यक्ष थ्रोमार्फत रनआउट गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। साथै, आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमा आयोजित त्रिकोणात्मक शृंखलामा नेपालका लागि सर्वाधिक १७५ रन बनाएका थिए।
आईसीसी टी-२० विश्वकपमा उनले स्कटल्यान्डविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै नेपाललाई १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै, इङ्ग्ल्यान्डविरुद्ध ४४ रन र वेस्ट इन्डिजविरुद्ध ५८ रनको उत्कृष्ट इनिङ खेलेका उनले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेका थिए।
नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि उनको कप्तानीमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। यी उत्कृष्ट प्रदर्शन र नेतृत्वदायी भूमिकाको कदर गर्दै उनलाई ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को अवार्ड प्रदान गरिएको हो।

