काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार खेम भण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको छ। अधिवक्ता श्री वीरभद्र जोशीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो।
सर्वोच्चले कारबाही नहुनुपर्ने भए आधार र कारणसहित जबाफ पेस गर्न आदेशमा भनेको छ।
‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारबाही हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीका नाममा यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू ,’आदेशमा उल्लेख छ।

