धनगढी । ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई भायानेट कम्युनिकेसनले साथ दिएको छ । भायानेट इन्टरनेट पार्टनरको रुपमा अवार्डमा जोडिएको हो । भायानेट धनगढीका शाखा प्रवन्धक दिनेश बोहोरा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
१९ असारमा कैलालीको धनगढीमा हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिने छ । आज नै वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, सुदूरपश्चिम आइकन पुरुष र महिलाको मनोनयन सार्वजनिक भइसकेको छ ।
छनोट समितिका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । ‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका छन् ।
त्यस्तै, ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन् । ‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा परेका छन् ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ ।

