धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अत्यधिक गर्मी, लामो खडेरी र निरन्तर घट्दो भूमिगत जलसतहका कारण खानेपानीको संकट गहिरिँदै गएको छ। एक समय वर्षभरि पानी दिने कलधारा, इनार र नल्काहरू सुक्न थालेका छन् भने गहिरा बोरिङबाट समेत पर्याप्त पानी आउन छाडेपछि स्थानीयवासीको दैनिक जीवन कष्टकर बनेको छ।
धनगढी उपमहानगरपालिकाको ग्रामीण क्षेत्र मात्र होइन, बजार नजिकका बस्तीहरूमा समेत खानेपानीको अभाव चर्किएको छ। विशेषगरी वडा नम्बर ६, १४ र १८ मा समस्या बढी देखिएको छ। पहिले नियमित रूपमा धारामा पानी आउने भए पनि गर्मी बढेसँगै पानी आउन छाडेको स्थानीयको गुनासो छ। बिहान सबेरै भाँडा बोकेर पानीको खोजीमा निस्कनुपर्ने अवस्था धेरै परिवारको दैनिक बाध्यता बनेको छ।
स्थानीयका अनुसार तत्कालका लागि ट्यांकरमार्फत पानी वितरण गरिए पनि यो दीर्घकालीन समाधान होइन। खानेपानी अभावका कारण घरायसी कामकाज, सरसफाइ, पशुपालन तथा कृषि कार्यसमेत प्रभावित हुन थालेको छ। समयमै प्रभावकारी योजना लागू नगरे आगामी वर्षहरूमा समस्या अझ विकराल बन्ने उनीहरूको चेतावनी छ।
खानेपानीको संकट बढेपछि धनगढी उपमहानगरपालिकाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। विशेषगरी वडा नम्बर १४ अन्तर्गतको स्याउले बजार क्षेत्रमा नल्का र धारा सुकेपछि स्थानीयलाई राहत दिन पानी वितरण गरिएको हो। उपमहानगरपालिकाले दीर्घकालीन समाधानका रूपमा स्याउले क्षेत्रमा डिप बोरिङ जडान गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।

जलस्रोत तथा वातावरण क्षेत्रका विज्ञहरूले भने अहिले देखिएको संकट केवल खडेरीको परिणाम नभई वर्षौंदेखिको प्राकृतिक स्रोतको अव्यवस्थित दोहनको असर भएको बताएका छन्। उनीहरूका अनुसार चुरे क्षेत्र तराईका भूमिगत जलस्रोतको मुख्य पुनर्भरण क्षेत्र भए पनि वन विनाश, नदीजन्य पदार्थको अत्यधिक उत्खनन, अनियन्त्रित सहरीकरण र भूमिगत पानीको अत्यधिक दोहनका कारण प्राकृतिक जलचक्र कमजोर बन्दै गएको छ।
विज्ञहरूले जल पुनर्भरण क्षेत्रको संरक्षण, चुरे दोहन नियन्त्रण, वर्षाको पानी संकलन तथा भूमिगत पानीको दिगो व्यवस्थापनका कार्यक्रम तत्काल कार्यान्वयन गर्न नसके धनगढीसहित तराईका जिल्लाहरूमा खानेपानी संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

