धनगढी । लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. कमलेश प्रसाद यादवले लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीबाट गालीगलौज, धम्की तथा अस्पतालमा प्रवेश गर्न नदिने चेतावनी दिएको आरोप लगाउँदै कानुनी उपचारको प्रक्रिया अघि बढाएका छन्।
डा. यादवले नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश (धनगढी शाखा) लाई लेखेको निवेदनमा नगरप्रमुख शाहीले पटक–पटक अस्पतालमा नआउन दबाब दिएको, अस्पताल आए ज्यानको समेत क्षति हुन सक्ने भन्दै धम्क्याएको तथा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र निर्देशनालयका अधिकारीसँग अस्पतालको अवस्थाबारे छलफल भइरहेका बेला फोनमार्फत अपमानजनक व्यवहार गरेको उल्लेख गरेका छन्। उक्त घटनाको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको समेत उनले दाबी गरेका छन्।
यस्तै, डा। यादवले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको जाहेरीमा अस्पतालबाट निवासतर्फ फर्किने क्रममा नगरप्रमुख शाहीले अस्पतालमा पस्नै नदिने, गाली–बेइज्जती गर्ने तथा आफू बसेको स्थानमै आएर धम्क्याउने जस्ता अभिव्यक्ति दिएको आरोप लगाएका छन्। यस्तो व्यवहारले आफ्नो मान–प्रतिष्ठामा आघात पुगेको, मानसिक तनाव सिर्जना भएको र ज्यानको सुरक्षाप्रति समेत शंका उत्पन्न भएकाले कानुनबमोजिम अनुसन्धान तथा कारबाहीको माग गरेका छन्।
यस घटनाप्रति नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश, धनगढी शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार, धम्की, कुटपिट, मानसिक दबाब तथा उपचार सेवामा अवरोध कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ।
यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल मात्र नभई समग्र स्वास्थ्य सेवा प्रणालीमै नकारात्मक असर पर्ने उल्लेख गर्दै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लम्कीचुहा नगर समितिले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो सामग्रीका आधारमा नगरप्रमुखको भनिएको अमर्यादित व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले जनप्रतिनिधिले कर्मचारी र नागरिकलाई सुरक्षित तथा सम्मानजनक कार्य वातावरण उपलब्ध गराउनुपर्ने दायित्व रहेको उल्लेख गर्दै भविष्यमा यस्ता व्यवहार नदोहोर्याई लम्कीचुहा प्रादेशिक अस्पताल निर्वाध रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ। यस विषयमा नगरप्रमुख सुशीला शाहीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। घटनाबारे प्रहरीको अनुसन्धान प्रक्रिया अघि बढेको जनाइएको छ।

