धनगढी: असारको करिब आधा महिना बित्नै लाग्दा पनि मनसुन सक्रिय हुन नसक्दा कैलालीका किसान खडेरीकै बीच धान रोपाइँ गर्न बाध्य भएका छन्। समयमै वर्षा नहुँदा आकाशे पानीको आशा गरेका किसान अहिले नहर, खोला तथा बोरिङको पानीको भरमा धान रोपिरहेका छन्। तर भूमिगत पानीको सतह घट्नु, विद्युत् भोल्टेज कम हुनु र अत्यधिक गर्मीका कारण सिँचाइमा समस्या बढ्दै गएको छ। यसले किसानको लागत बढाएको मात्रै होइन, रोपाइँको गति पनि सुस्त बनाएको छ।
सुदूरपश्चिमको प्रमुख अन्न उत्पादन क्षेत्र मानिने कैलाली र कञ्चनपुरमा यतिबेला धान रोपाइँको मुख्य समय हो। सामान्यतया असार लागेसँगै मनसुन सक्रिय भई खेतबारी पानीले भरिनुपर्ने हो। तर यस वर्ष पर्याप्त वर्षा नभएकाले खेतहरू सुख्खा छन्। कतिपय किसानले पम्पसेट र बोरिङ प्रयोग गरेर खेतमा पानी लगाई रोपाइँ गरिरहेका छन् भने सिँचाइको सुविधा नपुगेका ठाउँमा रोपाइँ अझै सुरु हुन सकेको छैन। धनगढी उपमहानगरपालिका–१५ का किसान श्रीकृष्ण चौधरीले यस वर्ष रोपाइँ गर्न निकै कठिन भएको बताए। उनका अनुसार नहर र खोलाको पहुँच भएका किसानलाई केही सहज भए पनि अधिकांश किसान बोरिङकै भरमा छन्। तर भूमिगत पानीको सतह घटेकाले बोरिङबाट पहिलेजस्तो पर्याप्त पानी आउँदैन। त्यसमाथि विद्युत् भोल्टेज कम हुँदा मोटरले राम्रोसँग काम नगर्ने समस्या छ।
पहिला केही घण्टा मोटर चलाउँदा पुग्थ्यो, अहिले दिनभर चलाउँदा पनि खेतमा चाहिने पानी पुग्दैन, उनले भने, डिजेल पम्प चलाउने हो भने खर्च धेरै हुन्छ, बिजुलीको भोल्टेज कम हुँदा इलेक्ट्रिक मोटरले पनि काम गर्दैन। उनका अनुसार सिँचाइका लागि पटक–पटक मोटर चलाउनुपर्दा विद्युत् र इन्धन खर्च बढेको छ। यसले खेतीको लागत उल्लेख्य रूपमा बढाएको किसानहरूको भनाइ छ। वर्षा नहुँदा रोपिएका खेतमा धाँजा पर्न थालेका छन्। अत्यधिक गर्मी र चर्को घामका कारण खेतको सतह चाँडै सुक्ने हुँदा रोपिएका धानका बिरुवा ओइलिन थालेका छन्। धनगढीकै किसान बालिचरण चौधरीका अनुसार रोपिसकेका धान जोगाउन दिनरात सिँचाइ गर्नुपर्ने अवस्था आएको छ।
एकपटक पानी लगाएर पुग्दैन। घामले खेत तुरुन्तै सुकाइदिन्छ। बिरुवा मर्न नदिन फेरि–फेरि पानी लगाउनुपरेको छ, उनले भने। उनका अनुसार कतिपय किसानले सिँचाइ अभावका कारण रोपिसकेको धानसमेत पुनः रोप्नुपर्ने अवस्था सामना गरिरहेका छन्। किसानहरूका अनुसार अहिले रोपाइँभन्दा पनि रोपिएको धान जोगाउनु ठूलो चुनौती बनेको छ। पर्याप्त पानी नहुँदा खेतमा चिरा पर्न थालेका छन् भने कतिपय स्थानमा धानका बिरुवा पहेँलिँदै गएका छन्। यसले उत्पादनमा समेत असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन्।
यता कृषि ज्ञान केन्द्र कैलालीले भने जिल्लाभर व्यापक समस्या नरहेको जनाएको छ। केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टका अनुसार जिल्लाका अधिकांश सिँचाइ सुविधा भएका क्षेत्रमा नहर तथा नदीको पानी उपलब्ध रहेकाले रोपाइँ जारी छ। उनका अनुसार हालसम्म जिल्लामा करिब ३० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। नहरको पहुँच भएका क्षेत्रमा रोपाइँ राम्रोसँग भइरहेको छ, उनले भने, तर नहर नपुगेका स्थानमा बोरिङ प्रयोग गर्नुपर्ने भएकाले विद्युत् भोल्टेज कम हुँदा केही समस्या देखिएको छ। बिष्टका अनुसार आगामी केही दिनभित्र मनसुन सक्रिय भएर पर्याप्त वर्षा भए असार मसान्तसम्म अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ। तर वर्षा अझै ढिलो भए रोपाइँ प्रभावित हुने र उत्पादनमा समेत असर पर्न सक्ने उनको भनाइ छ।
कैलालीमा वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। त्यसमध्ये करिब ३ प्रतिशत क्षेत्रमा चैते धान खेती गरिन्छ। जिल्लाको अर्थतन्त्रमा धान खेतीको महत्वपूर्ण योगदान रहेकाले समयमै मनसुन नआउँदा किसानसँगै कृषि क्षेत्रसमेत चिन्तित बनेको छ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मनसुनको आगमन अनियमित बन्दै गएको विज्ञहरूले बताउँदै आएका छन्। यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको छ। यदि आगामी केही दिनभित्र पर्याप्त वर्षा नभए सिँचाइको लागत थप बढ्ने, रोपाइँ ढिलो हुने र धान उत्पादनमा कमी आउने जोखिम रहेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

