धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ आगामी १९ असारमा हुने भएको छ । ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड उत्कृष्ट खेलाडी सम्मान प्रतियोगिता’का रुपमा अवार्डको सातौं संस्करण हुने भएको हो । आयोजक मञ्चका अध्यक्ष प्रदीप पाठकका अनुसार अवार्ड कार्यक्रममा २०८२–८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई आठ विधामा सम्मान गरिने छ ।
अवार्डअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधामा पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही ३५ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षकले ३० हजार रुपैयाँ, तथा वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताले जनही २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेतालाई जनही २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ ।
मञ्चका महासचिव हरि जोशीले अवार्डको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विभिन्न समिति तथा उपसमिति गठन गरेर कार्यक्रमलाई भव्य बनाउन काम भइरहेको बताए । मञ्चका अनुसार सुदूरपश्चिम स्पोर्ट्स अवार्डले खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई सम्मान गर्दै उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्य राखेको छ ।
यसैबीच, विगतका संस्करण जस्तै यसवर्ष पनि अवार्ड कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् जोडिएको छ । मुख्य प्रवर्द्धक सम्बन्धी सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का र मञ्चका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् ।

