धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत वडा नम्बर १४ मा लामो समयदेखि खानेपानीको समस्या चर्किंदै गएको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका छन्।
गर्मी बढेसँगै क्षेत्रमा खानेपानीको अभाव झन् गम्भीर बन्दै गएको स्थानीयको गुनासो छ। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रिय सभापति भीम पडालले केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था मिलाउन जोडदार माग गरेका छन् ।
उनले गर्मीका कारण दैनिक जीवन प्रभावित बनेको भन्दै खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
स्थानीयवासीले खानेपानी संकट समाधानका लागि दीर्घकालीन योजना निर्माण गरी सुरक्षित र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्।
धनगढी उपमहानगरपालिकाले ट्यांकरमार्फत केही स्थानमा पानी वितरण गरिरहेको भए पनि त्यो पर्याप्त नभएको स्थानीयवासीले बताएका छन्।
खानेपानीको समस्या समाधानका लागि निर्वाचित जनप्रतिनिधिहरूले तत्काल जिम्मेवारी बहन गर्दै दीर्घकालीन योजना अघि बढाउनुपर्ने माग स्थानीयले गरेका छन्।


