धनगढी । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् । पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’
आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।
रास्वपा सभापति रवि लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका छन् ।
प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन् ।
‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’ सभापति लामिछानेले यस्तो घोषणा गर्दा सहभागीहरूले ताली बजाएका थिए ।


