धनगढी । कैलालीमा दुर्लभ घडियालका बच्चा निस्केका छन् । टीकापुर नगरपालिकास्थित पथरैया नदीमा घडियाल गोहीले बच्चा कोरलेको हो ।
पथरैया नदीमा यो वर्ष अहिलेसम्म एउटा घडियालको गुँडबाट बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार टीकापुर नगरपालिका–७, बैदी क्षेत्रमा एउटा माउ घडियालसँग ३० देखि ३२ वटासम्म बच्चा देखा परिरहेका छन् । गुँडमा दुई वटा अन्डा भने बिग्रेको अवस्थामा भेटिएको ढुङ्गानाले बताए ।
पछिल्लो केही वर्षयता पथरैयासहित कैलालीको मोहना, कर्णाली नदीमा दुर्लभ घडियालले प्रत्येक वर्ष बच्चा निकाल्दै आएका छन् । अरू नदीमा गुँड परीक्षण गरिएको क्षेत्रमा भने अहिलेसम्म बच्चा देखा नपरेको जनाइएको छ । उहाँले भन्नुभयो, “पथरैया मोहना अन्य ठाउँमा पनि पोथी घडियाल देखिरहेकाले त्यहाँ गुँड हुन सक्ने अनुमान छ तर अहिलेसम्म बच्चा भने निस्केको देखिएका छैनन् ।”
संरक्षणकर्मीका अनुसार गुँड बनाएर अन्डा दिनका लागि घडियालले तापक्रम, परिवेश र बालुवाको अवस्था सबै जाँच गर्ने गर्छ । चैतमा दिएको अन्डा फुटेर जेठ अन्तिमदेखि असार अन्तिमसम्म बच्चा निस्कन्छन् तर ढिलो भएमा बाढीका कारण अन्डा बिग्रिने जोखिम पनि हुन्छ । घडियाल गोहीले उपयुक्त तापक्रम भएको ठाउँमा बालुवा खनेर खाल्डो बनाउने र त्यसमा अन्डा दिएर पुर्ने गर्छ । ३० देखि ३२ डिग्री सेल्सियस तापक्रम भएको गुँडबाट ६० देखि ९० दिनभित्र अन्डा आफैँ फुटेर बच्चा निस्कन्छन् ।
गुँडबाट निस्केका बच्चालाई माउले आहारविहार गराउने गर्दछन् । घडियालले यहाँ प्रत्येक वर्ष बच्चा कोरल्दै आए पनि थोरै मात्रै जोगिन्छन् । घडियालको धेरै जसो बच्चालाई मगर गोहीले मारेर खाइ दिने गरेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्रमा मगर गोही धेरै छन् । घडियालको धेरै जसो बच्चालाई मगर गोहीले नै खाइदिन्छन् । बल्लतल्ल जोगिएका बच्चालाई पनि बाढीले बगाउँछ । त्यसैले प्रत्येक वर्ष घडियालको धेरै बच्चा निस्के पनि सङ्ख्या स्थिर नै देखिन्छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ ।


