धनगढी । माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ झिलमिला स्थित बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको हो । विद्यार्थीहरूको शैक्षिक सिकाइलाई थप प्रभावकारी, गुणस्तरीय तथा व्यवहारिक बनाउने उद्देश्यले बैंकले विद्यालयलाई खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु लामिछानेले शिक्षामा गरिएको लगानीले समाजको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
त्यसैगरी माछापुच्छ्रे बैंक धनगढी शाखाका शाखा प्रबन्धक शिवराज पाठकले ग्रामीण क्षेत्रका विद्यालयमा शैक्षिक पूर्वाधार र सिकाइ सामग्रीको अभावलाई मध्यनजर गर्दै सहयोग गरिएको बताउनुभयो । प्राप्त सामग्रीले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थीहरूको अध्ययन, सिर्जनशीलता र सीप विकासमा सकारात्मक योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । विद्यालय प्रशासनले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले पठनपाठन तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ । माछापुच्छ्रे बैंकले विगतदेखि नै देशभर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ


