धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको छ। पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष थापा शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी ऐर बमको नाम सिफारिस गरेको छ।
एमालेले हाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका सुरेन्द्र पाललाई प्रमुख सचेतक तथा राज्यमन्त्री निर्मला साउँदलाई दलको उपनेता बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्ने तयारी गरेपछि एमालेले पनि नयाँ सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। प्रदेश सरकार पुनर्गठनको पृष्ठभूमिमा कांग्रेसभित्रको आन्तरिक विवाद मुख्य कारण बनेको छ। संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट हटाउन कांग्रेसका नौ जना सांसदले हस्ताक्षर गरेका थिए। तर डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद सुरक्षित बनेको थियो।
त्यसपछि कांग्रेसभित्र असन्तुष्ट पक्षलाई सरकारमा सहभागी गराउने सहमतिअनुसार मन्त्री हेरफेरको प्रक्रिया अघि बढाइएको हो। कांग्रेस र एमाले दुवै दलले नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाह बाहेक सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्री नयाँ बन्ने भएका छन्।


