धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी गरिरहेको छ। हिजो असन्तुष्ट पक्षसँग भएको वार्ताअनुसार आज दुवै पक्षले मन्त्री छनोट गरिरहेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री छनोट गरिरहेका छन् भने देवानसिंह विष्ट पक्षले दुई मन्त्री तथा एक राज्यमन्त्री छनोटका लागि छलफल गरिरहेको छ।
कांग्रेसले मन्त्रीहरू हेरफेरको तयारी गरिरहेका बेला सत्ता साझेदार एमालेभित्र पनि मन्त्री फेर्नुपर्ने बहस सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्कीले नेतृत्व गरिरहेका छन्। भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउद छिन्।
२०८१ साउनमा उनीहरू मन्त्रीमा नियुक्त भएका थिए। झण्डै दुई वर्षको कार्यकाल उनीहरू मन्त्री रहेको भन्दै अन्य सांसदहरूले अब आफूहरूलाई पनि मन्त्री बनाउनुपर्ने बताएका छन्।
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा पनि केही सांसदहरूले मन्त्री हेरफेरको विषय उठाएका थिए। ओलीले यस विषयमा परामर्श गर्ने संकेत दिएका थिए।
“कांग्रेसले मन्त्री फेरिरहेको छ। यही बेला हाम्रो पनि हेरफेर हुनुपर्छ,” एमालेका एक सांसदले भने, “यो विषयमा केन्द्रमा पनि कुरा भइरहेको छ।” अघिल्लो पटक मन्त्री भएकाहरूले दुई पटक बजेट ल्याइसकेको भन्दै अब आफूहरूले अन्तिम पटकको बजेट ल्याउन पाउनुपर्ने उनीहरूको अडान छ। एमालेका सांसदहरूले मात्रै होइन, एमालेका नेताहरूले पनि सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको विषय उठाइरहेका छन्। उनीहरूमध्ये केही नेताले नेकपालाई पनि सँगै लैजान सुझाव दिएका छन्।
आज कांग्रेसका दुवै पक्षले मन्त्री छनोट गरेर भोलि सरकार विस्तार गर्ने अन्तिम तयारी गरिरहेका बेला एमालेका केही नेताहरूले यही बेला आफ्ना मन्त्रीहरू पनि हेरफेर गर्न दबाब दिइरहेका छन्।


