धनगढी: ‘अत्तरिया–खोड्पे–दार्चुला सडकखण्डलाई विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नति कार्य सुरु गरिने छ,’ २०८२ जेठ १५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा भनिएको थियो । यो जेठ १५ मा दुईतिहाइनजिकको वालेन्द्र शाह नेतृत्वको सरकारले बजेट ल्यायो । तर, बजेटमा उक्त सडकको उच्चारणसमेत भएन ।
आगामी वर्षको बजेटमा सुदूरपश्चिममा रहेको पूर्वपश्चिम राजमार्ग, महाकाली कोरिडोर, सेती राजमार्ग र खुटिया–दीपायल सडकको नाम अटाए पनि अत्तरिया–खोड्पे–दार्चुला सडक ९महाकाली राजमार्ग० समावेश नगरिएको हो । उक्त सडकअन्तर्गतको अत्तरिया– डडेल्धुरा खण्ड ९भीमदत्त राजमार्ग० सुदूरपश्चिमका पहाडी जिल्लाको लाइफलाइन सडक हो । पहाडका सातवटै जिल्लामा आउजाउ गर्दा भीमदत्त राजमार्गका स्तरीय वैकल्पिक सडक छैनन् । उक्त सडकमा अघिल्लो सरकारले डबल लेनको योजना ल्याएर कार्यान्वयन नगर्दा निराश भएका सुदूरपश्चिमवासी अहिलेको सरकारको प्राथमिकतामै नपरेपछि थप निराश भएका छन् ।
तीन दशकसम्म भएको छैन स्तरोन्नति
अत्तरियादेखि दार्चुला जोड्ने महाकाली राजमार्गको कुल लम्बाई ३०६ किलोमिटर छ । राजमार्गको ६९ किलोमिटर कैलालीमा पर्छ भने डडेल्धुरामा ४८, डोटीमा ३३ तथा बैतडी र दार्चुलामा १५६ किलोमिटर रहेको छ । राजमार्गअन्तर्गत अत्तरिया–डडेल्धुरा खण्डको निर्माणको चर्चा २०१८ सालतिर भएको थियो । ट्रयाक खोल्ने काम सम्पन्न भएर २०२९ सालमा पहिलोपटक डडेल्धुरामा गाडी पुगेको थियो ।
२०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशकसम्म उक्त सडकको स्तरोन्नति गरिएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन । जसका कारण राजमार्गको अवस्था दयनीय बन्दै गएको छ । ठाउँठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा समस्या हुने गरेको छ । राजमार्गको डडेल्धुरा र डोटी खण्ड डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका अनुसार सडक मर्मतका लागि बेलाबेला ठेक्का गरिएका छन् तर स्तरोन्नतिको काम भएको छैन । राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक नै बगाइदिएको थियो ।
अघिल्लो सरकराले डबल लेनको योजना ल्याउँदा के भयो काम ?
अघिल्लो सरकारले डबल लेन बनाउने योजना ल्याए पनि एक वर्षभरि कुनै काम भने हुन सकेन । बजेट भाषणमा डबल लेनको योजना उल्लेख भए पनि कार्यान्वयनका लािग चालु आर्थिक वर्षमा बजेट नै नआएको सडक डिभिजन कार्यालयहरूले जनाएका छन् । बैतडी र दार्चुला खण्ड हेर्दै आएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख किरण सुवेदीले उक्त योजना कार्यान्वयनमा नरहेको बताए । डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने र त्यसका लागि अध्ययन गर्ने दुबै प्रकारको बजेट चालु आर्थिक वर्षमा नरहेको कार्यालयले जनाएको छ ।
कैलालीको अत्तरियादेखि फल्टुडेसम्म क्षेत्राधिकार रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले पनि डबल लेनमा स्तरोन्नति गर्ने र अध्ययन गर्ने योजना नरहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले उक्त सडकमा नियमित मर्मतबाहेक स्तरोन्नतिको कुनै योजना नरहेको बताए । डोटी र डडेल्धुरामा पर्ने उक्त सडक खण्ड हेर्दै आएको सडक डिभिजन कार्यालय डोटीले पनि डेडिकेटेड डबल लेन स्तरोन्नतिको कुनै योजना नरहेको जनाएको छ ।


