धनगढी । नेपालको साहसिक खेल पर्यटनमा नयाँ आयाम थप्ने उद्देश्य सहित सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा पहिलो पटक “रामारोशन स्काई रनिङ २०२६” आयोजना हुने भएको छ। प्राकृतिक सौन्दर्य, उच्च पहाडी भूगोल र साहसिक खेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपाल एडभेन्चर रनिङ फेडरेसनले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जेठ महिना भित्र आयोजना हुने प्रतियोगितामा प्रथम देखि १० औं स्थानमा आउने खेलाडीको लागि पुरुस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने खेलाडीलाई एक लाख रुपैयाको पुरुस्कार प्रदान दिईने छ । नेपाल एडभेन्चर रनिङ फेडरेसनका केन्द्रीय सदस्य वावुराजा श्रेष्ठका अनुसार प्रतियोगिताअन्तर्गत रामारोशनको रामेबाट सुरु हुने स्काई रनिङ चाखाको डाँडा हुँदै किनिमिनी मैदानसम्म पुगेर पुनः रामे फर्किने गरी २६ किलोमिटर लामो साहसिक दौड आयोजना गरिनेछ।
कठिन पहाडी मार्ग, प्राकृतिक दृश्य र चुनौतीपूर्ण भूगोलले यो दौडलाई विशेष बनाउने आयोजकको भनाइ छ। प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नुका साथै रामारोशनको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेसनका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरले विशेष परिस्थितिमा हुने साहसिक रेस प्रतियोगिताले नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फेडरेसनका केन्द्रीय सचिव तथा प्रतियोगिता संयोजक निरुपम ध्वज काक्रीले प्रतियोगितामा नेपाल सहित विभिन्न देशका करिब एक सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जानकारी दिनुभयो । साथै स्थानीय प्रतिभा पहिचान र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै २० वर्षमुनिका युवाका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिने भएको छ। साहसिक प्रतियोगिता मार्फत खेलकुद पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। प्राकृतिक सम्पदा र पहाडी भूगोललाई खेलसँग जोड्दै सुदूरपश्चिमको पर्यटन विकासमा समेत यो प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजको भनाई रहेको छ ।


