धनगढी । समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारीसँग जोड्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । धनगढीमा आजदेखि सुरु भएको समृद्धिका लागि सार्थक संवाद ‘सुदूरपश्चिम कचहरी २०८३’ को उद्घाटन गर्दै उहाँले प्रदेशमा रहेका अपार सम्भावनाहरूलाई युवाहरुको आयआर्जनसँग जोड्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका आवश्यकताहरू सम्बोधन हुने स्पष्ट र कार्यान्वयनयोग्य खाका निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । शाहले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको उल्लेख गर्दै यिनै चुनौतीबिच प्रदेश सरकारले सम्भावनाको खोजी गरिएको बताए ।
सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजनामा तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमले प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारको विषयमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।


