धनगढी । मिति २०७२ साल वैशाख २७ गते नेपाल प्रहरी सेवामा भर्ना भएका तथा हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरूले आफ्नो जागिर वार्षिकोत्सवको अवसर पारेर सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रहरी कर्मचारीहरूले धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित मानवसेवा आश्रममा आश्रित रहेका ५६ जना असहाय, बेवारिसे तथा सहाराविहीन व्यक्तिहरूलाई भोजन गराएका हुन् ।
मानवता, सामाजिक उत्तरदायित्व तथा सेवाभावलाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरूले आश्रममा पुगेर आश्रितहरूसँग आत्मीयता साटासाट गर्नुका साथै सामूहिक रूपमा भोजन वितरण गरेका थिए । कार्यक्रममा सहभागी प्रहरीहरूले आफ्नो जागिरको महत्वपूर्ण दिनलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नराखी समाजका दुःखी, असहाय तथा सहाराविहीन नागरिकसँग खुशी बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

उनीहरूले प्रहरी संगठन केवल शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभई समाजप्रति उत्तरदायी र मानवीय भावना बोकेको संस्था पनि हो भन्ने सन्देश दिन खोजिएको उल्लेख गरे ।
मानवसेवा आश्रमका प्रतिनिधिहरूले प्रहरी कर्मचारीहरूको उक्त कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यहरूले आश्रममा आश्रित व्यक्तिहरूलाई आत्मीय अनुभूति दिलाउने बताएका छन् । साथै समाजका विभिन्न क्षेत्रबाट यस्ता सहयोग र सद्भाव निरन्तर आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
उक्त कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्नुका साथै सामाजिक सेवामा प्रहरी संगठनको सकारात्मक भूमिका उजागर गरेको स्थानीयले बताएका छन् । प्रहरी कर्मचारीहरूको यस कार्यलाई मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ ।


