धनगढी: सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल शुक्रबारदेखि सेवानिवृत्त भएका छन्। चार वर्ष संगठनको नेतृत्व गरेका उनले फिल्डदेखि नीतिगत तहसम्म संगठनको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेको सशस्त्र प्रहरी अधिकारी बताउँछन्। ०५४ सालमा सेवा प्रवेश गरेका उनी पदावधिको हदका कारण २८ वर्षपछि सेवानिवृत्त भएका हुन्। ०७९ मा आइजिपीमा नियुक्त भएका अर्यालले दुईपटक आमनिर्वाचन गराउने अवसर पाए। सीमामा सशस्त्र प्रहरीको उपस्थिति बलियो बनाउनेदेखि आन्तरिक सुदृढीकरणका लागि उनले प्रणालीगत रूपमा सुधारका काम अघि बढाएका थिए। सरुवामा एक वर्षअघि नै पूर्वानुमान सूची बनाएर उनले थिति बसाए। संस्थागत सुधारका लागि उनको कार्यकालमा १०९ वटा कार्यविधि, निर्देशिका, मापदण्ड तथा कार्ययोजना बनाएर कार्यान्वयन भएको सशस्त्र प्रहरीले जनाएको छ।
अर्यालको सबैभन्दा ठुलो शक्ति आर्थिक रूपमा पारदर्शिता र नैतिकता नै भएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । ‘उहाँ कुनै पनि आर्थिक विवादमा मुछिनुभएन, त्यही उच्च नैतिकताले उहाँलाई शक्तिशाली आइजिपी बनायोे,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘नैतिकताको बलका कारण उहाँ जहाँ पनि खरो रूपमा उत्रन सक्नुभयो, जसले संगठनकै उचाइ माथि उठ्यो ।’ विगतमा सशस्त्र प्रहरीभित्र सधैँ गुटबन्दी रहँदै आएकोमा उनले सामूहिक नेतृत्वको प्रणाली अवलम्बन गर्दै सबैलाई समान दृष्टिकोणको नीति लिए। संगठनमा केही हदसम्म उनी राजनीतिक हस्तक्षेप पनि कम गर्न सफल भएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । संगठनको अनुमतिविना राजनीतिक नेतृत्वसँग भेटघाट बन्द गराई त्यस्ता अधिकृतलाई कारबाहीसमेत गरे । जसले संगठनको चेन अफ कमान्ड र अनुशासन दुवैलाई चुस्त बनायो । यही कारण उनले संगठनले गर्व गर्न लायक आइजिपीका रूपमा आफूलाई स्थापित गरेर बिदा भएको सशस्त्र प्रहरी अधिकारीको टिप्पणी छ ।
आइजिपी भएको दिनदेखि अवकाशको अन्तिम महिनासम्म उनमा सुधारको हुटहुटी कम भएन। विगतमा सशस्त्र प्रहरीका कार्यालयमा बिदाका नाममा रासनभत्ता अनियमितताको विकृति रहेकोमा उनले नेतृत्व सम्हालेलगत्तै अनलाइन बिदा प्रणाली लागू गरी ‘डिसिप्लिनरी ट्रयाकिङ एन्ड एक्सन युनिट’ बनाएर अनुगमन र कारबाहीलाई तीव्रता दिई सुधार गरे। पटक–पटक दरबन्दी समायोजनर्फत सशस्त्र प्रहरीको बढुवाको जाम हटाउन पनि उनले नेतृत्वदायी भूमिका खेले ।
कार्यकालमा उनले सीमा सुरक्षा र विपत् व्यवस्थापनमा संगठनलाई केन्द्रित गरे। जसअनुसार सीमामा जनशक्ति थप्नेदेखि स्थानीय नागरिकसँग सहकार्य गरी सीमा सुरक्षाको कार्यक्रमलाई अघि बढाएका छन्। सीमा सुरक्षा विभागको स्थापना गरी सीमा सुरक्षाका कामलाई थप संस्थागत गरी सीमास्तम्भको मर्मतका काम सम्पन्न भएका छन् । ०७७ सालमै सरकारले सीमास्तम्भ मर्मत गर्ने निर्णय गरेकोमा उनको कार्यकालमा सशस्त्र प्रहरीमार्फत मर्मतको काम भएको थियो। उनकै अवधारणाअनुसार हरेक वडासम्म विपतको उद्धारक तथा सूचक तयार गर्ने काम देशैभरि सुरु भएको छ । विपत् व्यवस्थामा आफ्नो उपस्थिति बढाउँदै सशस्त्र प्रहरीले नौ स्थानमा नयाँ सशस्त्र बेसहरू पनि थप गरेको छ ।
कल्याणकारी कार्यक्रमले पनि उनको कार्यकालमा प्राथमिकता पाए। सशस्त्र प्रहरी अस्पतालको सुदृढीकरणदेखि विद्यालयहरूको विस्तार गरे। कर्मचारीका कल्याणकारी कार्यक्रम बढाएर केहीहदसम्म मनोबल वृद्धिमा उनले योगदान दिए। यद्यपि कतिपय योजना भने अधुरै रहे। पटक–पटक प्रयास गर्दा पनि दरबन्दी थप्न सकेनन् । राष्ट्रसंघीय शान्ति मिसनमा एउटा एफपियू थप्ने प्रस्ताव अघि बढेर पनि अन्तिम समयमा रोकियो। जेन–जी आन्दोलनमा सशस्त्र प्रहरीमाथि पनि प्रश्न उठ्यो। यद्यपि, आन्दोलनलगत्तै आन्तरिक सुरक्षा सुदृढीकरणका लागि उनले योजना अघि बढाएर संक्रमणकालको व्यवस्थापन र निर्वाचनमा महत्त्वपूर्ण योगदान दिए ।
अर्यालले आफ्नै ब्याचका नारायणदत्त पौडेललाई नेतृत्व हस्तान्तरण गरेर बिदा भए। फौजी परम्पराअनुसार फौजको झन्डा, छडी, सशस्त्र प्रहरीको डक्ट्रिन हस्तान्तरण गरेर उनको बिदाइ भएको छ। नेतृत्व क्षमता र नैतिकताका आधारमा अर्याल अहिलेसम्मकै संगठनका सबैभन्दा सफल आइजिपी भएको टिप्पणी धेरै सशस्त्र प्रहरी अधिकारीको छ ।


