धनगढी: कैलालीस्थित यातायात व्यवस्था कार्यालय धनगढीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण तीव्र पारिएसँगै चार वर्षसम्म कुर्न बाध्य सेवाग्राहीहरूले अन्ततः आफ्नो लाइसेन्स हात पार्न थालेका छन्। लामो समयदेखि रोकिएका अनुमतिपत्र एकैपटक आइपुगेपछि कार्यालयमा यतिबेला सेवाग्राहीको उल्लेख्य भीड देखिएको छ।
यातायात व्यवस्था विभागले २०७८ पुस १७ गतेदेखि २०८१ चैत ३१ गतेसम्म तथा २०८३ वैशाख ४ गतेदेखि ७ गतेसम्म राजश्व बुझाएका सेवाग्राहीका लाइसेन्स प्रिन्ट गरी पठाएसँगै वितरण कार्यले तीव्रता पाएको हो। कार्यालयका अनुसार चार वर्षदेखि रोकिएका करिब ३१ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र अहिले धमाधम वितरण भइरहेको छ। नेपालको विद्यमान व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ। तर, प्राविधिक ढिलाइ, छपाइ समस्या र व्यवस्थापन कमजोरीका कारण परीक्षा पास गरेका तथा नवीकरण गरिसकेका सेवाग्राहीले समेत वर्षौँसम्म लाइसेन्स पाउन सकेका थिएनन्। अहिले भने लामो प्रतीक्षापछि लाइसेन्स हात परेपछि सेवाग्राहीहरूमा खुशी छाएको छ।
नवीकरण गरेको चार वर्षपछि लाइसेन्स पाएका सुरेन्द्र बिष्टले २०७९ सालमै नवीकरण गरेको स्मरण गर्दै अब ढिलाइको झन्जट अन्त्य भएको बताए। “धेरै समय कुर्नुपर्यो, तर अन्ततः लाइसेन्स पायौँ, अब सजिलो भयो,” उनले भने। त्यस्तै, नवीकरण गरेको तीन वर्षपछि लाइसेन्स पाएका मिन्दर रानाले पछिल्लो समय सरकारले काममा गति ल्याएकै कारण आफूहरूले लाइसेन्स पाउन सफल भएको प्रतिक्रिया दिए। “अहिले काम छिटो भइरहेको छ, हामीले लाइसेन्स पायौँ, खुसी लाग्यो,” उनले भने।
लाइसेन्स नहुँदा बैंकिङ सेवा, सवारी चेकजाँच तथा अन्य आधिकारिक काममा समस्या झेल्दै आएका सेवाग्राहीहरूले अब सहजता महसुस गरेको बताएका छन्। यद्यपि, भविष्यमा यस्ता ढिलाइ दोहोरिन नदिनुपर्नेमा उनीहरूको जोड छ। सेवाग्राही शंकर बिकले अब लाइन लाग्नुपर्ने झन्जटको अन्त्य गर्दै सेवा पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने बताए।
यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुख भुवन जोशीले सेवाग्राहीलाई लाइसेन्स लिन आउँदा आवश्यक कागजातको चेकलिष्ट हेरेर मात्र उपस्थित हुन आग्रह गरेका छन्। विभागले करिब ३१ हजार ९ सयभन्दा बढी लाइसेन्स छापेर पठाएको जनाएको छ, जसमा नयाँ, थप श्रेणी, नवीकरण तथा प्रतिलिपि सबै समावेश छन्। चार वर्षसम्म रोकिएका लाइसेन्स वितरण सुरु हुनु सेवाग्राहीका लागि राहतको विषय बनेको छ।


