धनगढी । ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको तयारी पूरा भएको छ । वैशाख १८ गते अर्थात् भोलि हुने म्याराथन प्रतियोगिताको तयारी पूरा भएको हो ।
धनगढी जेसिजको आयोजनामा प्रत्येक वर्ष वैशाख १ गते हुने कार्यक्रम यसपटक १८ गते हुन लागेको हो ।
धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाका अनुसार धनगढी रंगशालाबाट सुरु भएर गेटास्थित शहीद दशरथ चन्द विश्वविद्यालय हुँदै पुनः रंगशालासम्म पुगेर म्याराथन सकिने छ । म्याराथन २१।१ किलोमिटर दूरीको हुनेछ ।
प्रतियोगिताको विजेताले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार ५५५ र तेस्रो हुनेले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्ने छन् । पाँच किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि आयोजना गरिने ओझाले बताए । दुवै प्रतियोगिताका विजेताले सात हजार ७७७, दोस्रो हुनेले पाँच हजार ५५५ र तेस्रो हुनेले चार हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस पटकको दौडलाई लागूऔषधविरुद्धको अभियानका रूपमा लिइएको अब धनगढी दौडिन्छ’ हाफ म्याराथनका संयोजक दिपेस बोहराले जानकारी दिए । प्रतियोगितामा सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पनि पुरस्कार दिने ब्यवस्था गरिएको संयोजक बोहराको भनाई छ । निसर्ग अस्पतालले सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने संयोजक बोहराले बताए ।
यस्तै, प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले भोलि विहानसम्म नै फाराम लिन सक्ने जेसिजले जनाएको छ । विहान ६ बजे सुरु हुने म्याराथनको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धाटन गर्ने कार्यक्रमका संयोजक बोहराले बताए । यस्तै, सुदूरपश्चिममा सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई फेस अफ द इभेन्टका रुपमा राखिएको छ ।


