धनगढी । कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । आईतबार गोदावरी नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरु नगरपालिकाले जफत गरेको छ । नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा अनुगमन गरिएको थियो ।
उपप्रमुख रोकायाले उपभोक्ता हित संरक्षण ऐन अनुसार नगरपालिकाले नियमित रुपमा अनुगमन गर्दै आएको बताईन । उनले आईतबारबाट अनुगमन सुरु गरिएको बताउदै नगरभित्रका सबै साना ठुला बजारहरुमा अनुगमन गरिने बताईन । ‘हामीले उपभोक्ता हित संरक्षण ऐन बमोजिम अनुगमन गरिरहेका छौ’ उनले भनिन् ‘आज अत्तरिया बजारबाट सुरु भएको छ, अब स्याउले, गेटा लगायतका बजारहरुमा पनि अनुगमन हुनेछ ।’ उनले अनुगमनका क्रममा बजारका सम्पुर्ण पसलहरुमा खाद्य विषयवस्तु मात्रै नभई दर्ता नविकरणका विषयहरु पनि हेरिएको बताईन । उनले मुख्य बजारबाहेक भित्रि क्षेत्रमा रहेका पसलहरुमा पनि यसपटक अनुगमन हुने बताईन ।
आईतबार ३८ वटा पसलहरुमा अनुगमन गरिएको थियो । जसबाट ७० हजार १८० रुपैया बराबरका अखाद्य तथा म्याद नाघेका वस्तुहरु फेला परेको नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत लोक बहादुर खड्काले जानकारी दिए । उनले बजारमा विगतको तुलनामा धेरै हदसम्म व्यवसायीहरुले सुधार गरेको पाईएको बताए । उनका अनुसार आईतबार बाट सुरु भएको बजार अनुगमन केही दिनसम्म नियमित रुपमा चल्नेछ ।
अनुगमनका क्रममा जफत गरिएका वस्तुहरु नगरपालिकाको वडा नं। ३ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा नष्ट गरिएको छ ।


