धनगढी: भारतसँग सिमाना जोडिएका बजार क्षेत्रबाट किनमेल गरेर आउने नेपालीलाई नेपालमा कडाइ गर्न थालिएपछि भारतले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । नेपाली एक सय रुपैयाँभन्दा माथिका सामान खरिदमा भन्सार कडाइ गरिएकोमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले प्रतिक्रिया दिएका हुन् ।
जैसवालले आज भारतका पत्रकारले सोधेको प्रश्नको जवाफमा नेपाल मामिलामा प्रतिक्रिया दिँदै भन्सारमा नेपालको नयाँ नीतिका बारेमा आफू जानकार रहेको बताएका छन् । उनले नेपाल सरकारले तस्करी तथा अनौपचारिक व्यापार नियन्त्रण गर्न यस्तो कदम चालेको भारतले बुझेको बताउँदै भने, ‘नागरिकले घरेलु सामान किनमेल गर्दा कुनै पनि अवरोध नहुने नेपाली उच्च अधिकारीले भनेको हामीले सुनेका छौँ ।’
भारतले सीमा व्यापारमा औपचारिक रूपमा मिश्रित प्रतिक्रिया दिए पनि नेपाल मामिलाका जानकार डा। एसडी मुनीले भने सीमा क्षेत्रको व्यापारमा अवरोध गर्नु नाजायज भएको बताएका थिए । तराई मधेश केन्द्रित दल मात्रै होइन, धेरै पक्षले सीमानाकामा गरिएको पारिवारिक किनमेलको अवरोधमा विरोध जनाइरहेका छन् ।


