काठमाण्डाै: विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
२०७९ साल पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारतकाे महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो ।
माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा छन् । २०६३ सालमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका महरा पछि उपप्रधानमन्त्रीसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय सम्हाल्दै सभामुख पनि बनेका थिए ।

