धनगढी: सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सवारी भाडा पनि समायोजन गरेको हो । वैज्ञानिक भाडा दर समायोजन व्यवस्थाअनुसार यात्रुवाहक सवारीको भाडा साविकको दरमा १६.७१ प्रतिशतले बढाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।
यसैगरी, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रका लागि २१.६८ प्रतिशतले भाडा वृद्धि गर्ने सहमति भएको छ भने मालवाहक तराई क्षेत्रका लागि साविकको भाडादरमा १५.७५ प्रतिशतले वृद्धि गर्ने निर्णय भएको छ । खाडी मुलुकमा चर्किएको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिसँगै मूल्यमा असर पर्दा नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
तेलको मूल्य बढेसँगै व्यवसायीहरूले भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदैआएका थिए । सोही दबाबका बीच सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।

