धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको बैठक पहिलोपटक कैलालीको गेटामा बस्ने भएको छ । यसअघिका तीन विश्वविद्यालय सभा (सिनेट) को बैठक संघीय राजधानीमा भएकोमा पहिलोपटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो । चैत २५ गते बिहान ९ बजे विश्वविद्यालयमा बैठक बोलाइएको छ । त्यसको जानकारी शिक्षामन्त्री सस्मित पोखरेलको निजी सचिवालयले दिइसकेको छ ।
विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा सभा गठन गरिएको छ । सभाको अध्यक्ष विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ । यस्तै, सहकुलपति नै रहेका स्वास्थ्यमन्त्री सभामा सदस्य छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति, गोदावरी नगरपालिकाका प्रमुख लगायत विश्वविद्यालय सभामा सदस्य रहने ऐनमा व्यवस्था छ । विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने व्यवस्था छ ।
सिनेट बैठकमा शिक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सहभागी हुने बताइएको छ । विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी छ ।


