धनगढी । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताए । बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा धान रोपाइँको उद्घाटन गर्दै मन्त्री डा। परियारले सो कुरा बताउनुभएको हो ।
“मलखादको अभाव हुन नदिन सरकारले समयमै २९ अर्ब रुपियाँ अनुदान निकासा गरिसकेको छ,” मन्त्री डा। परियारले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिवेशले असर नपारे यस वर्ष मलको अभाव हुँदैन, साथै प्राङ्गारिक मलको प्रयोगका लागि पनि तयारी अवस्थामा रहौँ ।” उहाँले मेसिनको प्रयोगले श्रमशक्ति र लागत घटाउने भएकाले कृषि यान्त्रिकीकरणले यस क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कैलालीको आयोजनामा जानकी गाउँपालिका–४, कञ्चनपुरमा मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रम गरिएको हो । एकाइले कैलालीमा पहिलो पटक चैते धान रोपाइँका लागि मेसिन भित्र्याएको हो । यहाँस्थित बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिनबाट चैते धान लगाइएको छ ।
परियोजना कार्यान्वयन एकाइ कैलालीका कृषि अधिकृत भीष्मराज रेग्मीले यस पटक बर्दियामा रहेको मेसिनबाट धान रोपाइँ गरिएको र सहकारीलाई १६ लाख ५० हजार रुपियाँ मूल्य पर्ने मेसिन खरिद गरेर दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
धान रोपाइँ तथा अन्तरनिकाय अनुगमन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख टीकाकुमारी भुल, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलगायतका जनप्रतिनिधिको उपस्थिति थियो ।

