धनगढी: नेपाल कम्यिुनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १२ वर्षपछि भोट खसालेका छन् । उनको सचिवालयका अनुसार चन्दले रोल्पाको परिवर्तन गाउँपालिका वार्ड नम्बर ३ स्थित थुनिकोट मतदानकेन्द्रबाट मतदान गरेका हुन् ।
२०५२ सालदेखि नै सशस्त्र जनयुद्धमा सहभागी उनी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २०६४ सालमा भोट हालेका थिए । त्यसपछिका चुनाव उनले बहिष्कार गर्दै आएका थिए । प्रचण्ड नेतृत्वको पार्टीबाट अलगभएपछि विभिन्न घटकमा मिसिएका उनीसँग अहिले आफ्नै नेतृत्वको पार्टी छ । सुरुमा उनी उम्मेदवार बने पनि पछि प्रतिस्पर्धाबाट हटेका थिए । उनको दलले धेरै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

