धनगढी । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्लास्थित प्रहरीका इन्चार्ज र थप मद्दतमा खटिएका उच्च तहका प्रहरी अधिकृतहरूलाई ब्रिफिङ गरेका छन्।
आइतबार भर्चुअल माध्यमबाट करिब आधा घण्टा ब्रिफिङ गरेका कार्कीले निर्वाचन सुरक्षामा कुनै पनि त्रुटि नगर्न निर्देशन दिएका छन्। उनको भनाई उद्धृत गर्दै प्रहरीका एक जना अधिकृत भन्छन्, ‘निर्वाचन हुने दिन नजिक आएको छ, अन्तिम अवस्थामा सुरक्षा चुक नहुने गरी काम गर्नुहोला।’
निर्वाचनलाई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन आईजीपी कार्कीले निर्देशन दिएका छन्।
निर्वाचन सुरक्षामा प्रहरीले एसपी र एसएसपीसहित १३ हजार फौज थप मद्दतको रूपमा परिचालन गरेको छ। निर्वाचनको मुखमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति सहित प्रहरी परिचालन गर्न प्रदेशका डीआईजीहरु र विभागीय प्रमुखहरूलाई आईजीपी कार्कीले निर्देशन दिएका छन्।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने र सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रसारण गर्नेलाई कानुनी दायरामा ल्याउन कार्कीले निर्देशन दिएका छन्।


