बैतडी — जिल्लामा बालबालिकामा हुने कडा कुपोषण घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा बैतडीमा १५८ जना बालबालिकामा कडा कुपोषण देखिएको थियो ।
यो संख्या गत आर्थिक वर्षमा १३८ मा झरेको छ । चालु आर्थिक वर्षको हालसम्म ९० बालबालिका कडा कुपोषणबाट ग्रस्त रहेको पाइएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले ५९ महिनासम्म सबै कुपोषण ग्रसित बालबालिकाको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताए । प्रत्येक स्वास्थ्य संस्थामा कुपोषणको उपचारको लागि छुट्टै बहिरंग उपचार केन्द्र व्यवस्थापन गरिएको उनले बताए ।
कुपोषणको उपचारपछि निको भएर घर फर्केका बालबालिकामा पनि यो समस्या दोहरिने गरेको उनले बताए । कुपोषण दोहोरिनुको कारण घरको खानपान रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा कडा कुपोषणको दर अझै घटाउने लक्ष्य राखेको छ । स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा पोषण शिक्षा अभियानलाई थप प्रभवकारी बनाउने योजना रहेको सूचना अधिकारी कार्कीले बताए ।
शरीरमा पोषणको कमी भएर बच्चा वा व्यक्तिको तौल र शारीरिक अवस्था निकै कम्जोर हुनु कडा कुपोषण हो । नेपालको संविधानले पनि बालबालिकालाई पोषणयुक्त आहाराको अधिकार सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै पूर्ण कार्यान्वयन हुन सकेको छैन् ।


