धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तर्गत नेपाली काँग्रेसले आफ्नो विशेष जनसञ्चार अभियान ‘मेरा १५ दिन पार्टीलाई’ सुरू गरेको छ । यस अभियान अन्तर्गत पार्टीका सबै तह र तप्काका कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरिएको छ ।
पार्टी प्रवक्ता अनुसार, अभियानको मुख्य उद्देश्य घर–घर, टोल–टोल, वडा–वडा र शहर–शहरमा पार्टीको झण्डा फहराउँदै जनमत सिर्जना गर्नु हो । कार्यकर्ताले १५ दिनसम्म लगातार प्रचार–प्रसार, भेटघाट र जनसंपर्कमा संलग्न रहि नेपाली काँग्रेसका उम्मेदवारहरूको पक्षमा व्यापक समर्थन जुटाउने योजना बनाइएको छ ।
यस अभियानका माध्यमबाट नेपाली काँग्रेसले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारहरूको योग्यताबारे जानकारी दिनेछ । पार्टीको मुख्य उम्मेदवार नर नारायण शाह मनु को पक्षमा जनमत जुटाउने र निर्वाचनमा विजयी बनाउने उद्देश्यले यो १५ दिने अभियान अत्यन्त महत्वपूर्ण मानिएको छ ।
पार्टीका नेताहरूले सबै तहका कार्यकर्तालाई व्यक्तिगत रुपमा सक्रिय हुन, टोल–वडा स्तरमा बैठक, घरदैलो भ्रमण, र सामाजिक संजालमार्फत प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । विशेष गरी अभियानका प्रत्येक दिनलाई रणनीतिक रूपमा विभाजन गरेर जनमत सिर्जनामा उच्चतम प्रभाव पार्ने योजना बनाइएको छ ।
क्षेत्रीय सभापति भिम पडालद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘पार्टीले स्थानीय तहका प्रतिनिधिहरू, युवासमितिहरू र महिला सञ्जाललाई पनि अभियानमा संलग्न गराउँदै समाजका सबै वर्गमा पार्टीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । यसरी १५ दिनसम्म निरन्तर सक्रिय रहँदा नेपाली काँग्रेसले आगामी निर्वाचनमा मजबुत जनसमर्थन हासिल गर्ने विश्वास लिएको छ ।’
उनले भने ‘मेरा १५ दिन पार्टीलाई’ भन्ने संकल्पसहित आफ्नो टोल र घरमा पार्टीको झण्डा फहराउँदै सक्रिय परिचालनमा जुटून् र पार्टीको उम्मेदवारलाई विजयी बनाउन आफ्नो योगदान दिनुहोस् ।’


