धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनपछि उठेका सवाललाई नयाँ जनादेशमार्फत सम्बोधन गरिने बताएका छन् ।
कैलालीको लम्कीमा बिहीबार नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । नयाँ जनादेशमार्फत जेनजीका सवाल सम्बोधन गर्नका लागि मुलुकमा चुनाव आवश्यक रहेको उहाँको भनाइ थियो । प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने , “निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाउन प्रतिबद्ध छौँ ।” उहाँले एकता नै बल हो भन्ने मान्यतालाई आत्मसात् गर्दै एकताबाट मात्रै नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव रहेको बताए ।
भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसले नेतृत्व लिएकै कारणले आज मुलुक निर्वाचनमय भएको मुख्यमन्त्री शाहले बताए । उनले सरकारबाट निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास भइरहेको बताए । यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक लागि परेको उहाँको भनाइ थियो ।
संविधानमा आफ्नो हक, अधिकार स्थापित गराउनका लागि पटक पटक आन्दोलन गरेको थारू समुदायको मुद्दाप्रति जेनजीले चासो दिएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संविधान संशोधनका सवालमा उठ्न सक्ने मुद्दाबारे सरकारलाई अवगत गराउनका लागि जेनजीले थारू समुदायको मुद्दाप्रति चासो दिएको हो । संविधान निर्माणका क्रममा थारू समुदायले विभिन्न समयमा थरुहट आन्दोलन गरेको थियो । सोही आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीमा हिंसात्मक टीकापुर घटना भएको थियो ।
संविधान संशोधन हुने विषयमा भोलि केही मुद्दा उठेमा थारू समुदायले के चाहन्छन् भन्ने कुरा जेनजीले बुझ्न चाहेको जेनजी सिभिक फोरमकी तनुजा पाण्डेयले बताइन् ।

