धनगढी । मंगलबार मात्रै सुदूरपश्चिममा पाइला टेकेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेनले २ दिनमा मात्रै १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेका छन् । मंगलबार कैलाली कञ्चनपुरका ८ निर्वाचन क्षेत्रमा पुगेका उनी बुधवार सुदूरपश्चिमका पहाडी जिल्लाका ४ निर्वाचन क्षेत्रमा पुगेका छन् । बुधवार उनी एक एक निर्वाचन क्षेत्र रहेका डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ पुगेका छन् ।
बुधवार बिहान डडेल्धुुरा पुगेका उनले पार्टी कार्यालय तुफान डाँडामा पुगेका त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए । रास्वपाका नेता तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ताराप्रसाद जोशीले बालेनको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसँगको संक्षिप्त भेटमा केन्द्रित रहेको बताए । उनले बालेनको उपस्थितिले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा थप उत्साह र हौसला बढेको उल्लेख गरे ।
डडेलधुरामा छोटो समय बिताएका बालेन त्यहाँबाट बैतडी गएका थिए । बैतडीको पाटनमा पुगेर उनले समर्थकहरूलाई अभिवादन गर्दै पार्टी कार्यालयमा रहेको घण्टी बजाएका थिए । त्यहाँबाट दार्चुलाको गोकुलेस्वर स्थित पार्टी कार्यालय पुगेका उनी राती ८ बजे बझाङको बुङ्गल स्थित पार्टी कार्यालयमा पुगेका थिए । पार्टी कार्यालयमा उनले फागुन २१ गतेको निर्वाचनका लागि रास्वपाका उम्मेदवार सँग कुराकानी गरेर फर्किएका थिए । अधिकांश ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी बजाउँदै अभिवादन गर्दै बालेन हिँडेका थिए । उनी यसअघि अछाम सम्मको यात्रामा निस्कने कार्यक्रम रहेको छ ।
प्रतिकुल मौसमका बिच बालेनले एकै दिन पहाडका ४ जिल्लाको यात्रा पुरा गरेको भन्दै धेरैले आश्चर्य समेत व्यक्त गरेका छन् ।
कुनै पनि ठाउँमा मन्तव्य नदिएका उनले डडेल्धुरामा पुगेर सामाजिक सञ्जालमा आत्मीय सन्देश व्यक्त गर्दै ‘सुदूर अब दूर नाइँ, झिकै झिकै माया तम्लाई ’ भन्दै स्ट्याटस लेखेका थिए । माघ ५ गते पहिलो चुनावी घोषणा कार्यक्रम गरेका बालेन त्यसयता देश दौडाहामा छन् ।
माघ ६ गते झापाबाट मनोनयन दर्ता गरेर उनले भेटघाटलाई तीव्रता दिएका उनी माघ १० गते सम्म पूर्वी जिल्लाको भ्रमण सकेर माघ १२ गते पश्चिम नेपालको यात्रामा निस्किएका थिए । माघ १२ काठमाडौँबाट हवाई मार्गमार्फत नेपालगन्ज पुगेका उनी माघ १३ बर्दिया ठाकुर बाबा दर्शन गरेर सुदूरपश्चिम आएका थिए ।

