धनगढी । जिल्ला प्रहरी कार्यालय डडेलधुरापरिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिर आत्महत्या गरेकी छन् । भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारीचालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गरिन् । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारीचालक प्रहरीलाई पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४, खलङ्गामा शुक्रबार उहाँ मृत फेला पर्नुभएको हो । उहाँका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेको बुझिएको छ ।
सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले लेख्नुभएको छ, “मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस् ।” उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । नोटमा लेखिएको छ, “मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपियाँ मेरो छोरालाई दिनू । कसैले पढाइदेलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकिनँ, छोरा माफ गरिदिनू । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ।” परिवारजन आएपछि थप कानुनी प्रव्रिmया अघि बढाइने उनले बताए । शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आइतबार बिहान शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल लगिएको छ । मृतक गिरीका कान्छा ससुराले जाहेरी दिएपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको हो । उहाँका अनुसार मृतक गिरीका १० र सात वर्षका दुई छोरा छन् ।

