धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीमा वितरण गरेको टिकटप्रति असन्तुष्टि देखिएको छ । साबिक नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थारूवान थारूहट अभियन्तासँगको एकतापछि कैलालीका ५ मध्ये २ निर्वाचन क्षेत्रमा साबिक नाउपा र थारूवान थारूहट अभियन्तालाई भागबण्डा गरिएको थियो ।
कैलाली १ मा कोमल ज्ञावली र कैलाली ३ मा रास्वपाले लक्ष्मण थारूलाई उम्मेदवार बनाएको छ । यस्तै, २ मा केपी खनाल, ४ मा हरि रेग्मी, ५ मा आनन्द चन्दलाई रास्वपाले उम्मेदवार बनाएको छ ।रास्वपा प्रदेश सभापति प्रकाश बिष्ट कैलाली(१ का आकांक्षी थिए । नगरबाट एकल सिफारिस हुँदा समेत उनले टिकट नपाएपछि यहाँका नेता(कार्यकर्ता रुष्ट भएका हुन् ।
टिकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समिति तथा क्षेत्रीय समितिले पुनः केन्द्रलाई प्रदेश सभापतिको एकल नाम सिफारिस गरेका छन् । यता कैलाली ५ मा पनि केन्द्रले चन्दा टिकट दिएको छ । तर नगर समितीले भीमबहादुर बोहरालाई एकल सिफारिस गरेको छ । जिल्ला सभापतिसहितको बैठकले बोहरालाई सिफारिस गरेको हो ।

टिकापुर नगर सभापति रविन्द्र बिष्टले उम्मेदवार परिवर्तन नभए कैलालीका कुनै पनि क्षेत्र जित्न नसकिने बताएका छन् । ‘निर्णय नसच्चिए कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपा चैट हुन्छ,’ सभापति बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ।

