कञ्चनपुरः थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ–गाउँमा मघौटा नृत्यको रौनक सुरु भएको छ। मादलको तालमा मघौटा नृत्य र गीतले गाउँ गुञ्जयमान भएका छन्। मघौटामा गुञ्जिनुपर्ने दिदी–बहिनीका वीरह पोखिएका गीत भने विस्तारै हराउँदै जान थालेका छन्। परम्परागत रूपमा गाउँको नेतृत्व छनोट, विकास निर्माण र सामाजिक न्यायका विषय टुङ्ग्याउन आयोजना गरिने देवानी बैठक सकिएपछि गाउँका घरमूली, युवा–युवती र बूढापाका एकै ठाउँमा भेला भई मघौटा नृत्य आयोजना गर्ने चलन छ। मघौटा गीतमा थारु समाजको मौखिक इतिहास र दिदी बहिनीको वीरह लुकेको हुन्छ।
मघौटा नृत्यमा विशेष गरी विवाहित दिदी–बहिनीका वीरह गीत लाई मौलिक तरिकाले प्रस्तुत गर्ने गरिन्थ्योु, शुक्लाफाँटा नगरपालिका-१० झलारीका थारु गीत तथा साहित्यका जानकार कालुराम डगौराले भने, ुपहिलो प्राथमिकतामा ती वीरहका गीतहरुनै हुन्थ्ये, माघीमा गाइने यी गीतमा माइती जान नपाएको पीडा, दाजुभाइको प्रतीक्षा र बुबाको आश मिसिएको हुन्थ्यो।
उनी भन्छन्, मघौटा गीत थारु महिलाको मनको भाषा हो, माइतीप्रतिको माया, पीडा र प्रतीक्षा गीत बनेर छचल्किन्छ तर हाल माया प्रेमका गीतहरुलाई बढी प्राथमिकता दिइँदा पुराना वीरही गीतहरु हराउँदै गएका छन।ु थारु समुदायका बूढापाकाहरुका अनुसार, माघीका बेला माईती जान व्यग्रप्रतिक्षामा रहेका दिदीबहिनीहरु माइतीबाट बोलाउने सन्देश नआएपछिको कुरा मघौटाको गीतमा मार्मिक ढंगले यसरी प्रस्तुत गर्ने गरिन्थ्यो।
वितनै महिना पाखा, वितनै वर्ष दिन,
तब्बु नाही आबै नहि रे सन्देश सखिये हो ।
(कति महिना, कति वर्ष बिते, तर न कोही लिन आयो, न त कुनै सन्देश नै आयो)

