कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। मानव जीवन रक्षाका लागि रक्तदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न संघ–संस्था, कलेजका विद्यार्थी तथा स्वयमसेवी रक्तदातालाई लक्षित गरिएको छ।
रक्तदान कार्यक्रम निसर्ग अस्पताल परिसरमा पौष ७ गते सोमबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम सञ्चालनका लागि निसर्ग अस्पताल र नेपाल रेडक्रस सोसाइटी वडा नम्बर ५ उपशाखा को सहकार्य रहेको छ भने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धनगढी ले प्राविधिक सहयोग रहने वडा अध्यक्ष गजेन्द्र बहादुर शाहीले बताए ।
रक्तदानले आपतकालीन अवस्थामा धेरैको जीवन जोगाउन सक्ने उल्लेख गर्दै वडा अध्यक्ष शाहीले नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरे। उनले यस्ता कार्यक्रमले समाजमा मानविय भावना र सामाजिक उत्तरदायित्व बढाउने बताउदै अभियान सफल पार्न सबैलाई आग्रह गरे ।
रक्तदान अभियान सफल बनाउन अहिले नया रक्तदाता बढाउनु पर्ने बताउदै वडा अध्यक्ष शाहीले १११ पटक रक्तदान गरेका दीपक नेपाल लाई संगै लिएर वडा नम्बर ५ मा रहेका बिभिन्न कलेजहरुको भ्रमण गरिरहेको बताए ।
रक्तदान किन आवश्यक छ ? कसकसले गर्न सक्छ ? रक्तदानका फाइदाहरुको बारेमा दीपक दाईले स्वय उपस्थित भै कलेजका बिधार्थीहरुलाई जानकारी गराइदा उनिहरुमा आत्मबिश्वास समेत बढेको वडा अध्यक्ष शाहीले बताए ।
यसैगरी १११ पटक रक्तदान गरिसकेका सुदूरपश्चिम प्रदेशका रक्तदान सदभावना दुत दीपक उपाध्यायले रक्तदान सुरक्षित, सरल र जीवनदायी कार्य भएको बताउँदै सबै सक्षम नागरिकलाई नियमित रक्तदान गर्न प्रेरित गरे। उनले प्रत्येक नागरिकको सामाजिक उत्तरदायित्व समेत रहेको बताउदै तपाई हाम्रो एकपिन्ट रगतले कसैको जीवन बचाउन सक्ने भएकाले रक्तदान गर्न आग्रह गरे ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कार्यक्रम सञ्चालन गरिने जनाउँदै, बढीभन्दा बढी नागरिकको सहभागिताले कार्यक्रम सफल हुने विश्वास रहेको रक्तदान सदभावना दुत उपाध्यायले बताए ।



