काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन हिजोबाट शुरु भएको छ र आजबाट बन्दसत्रमा प्रवेश गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न उद्घाटन सत्रमा समर्थकहरुको बाक्लै उपस्थिति देखियो । उद्घाटन सत्रमा कांग्रेस, नेकपा, रास्वपा, राप्रपालगायत प्रमुख राजनीतिक दलहरुले पनि उपस्थिति जनाएका थिए । एमालेलाई शुभकामना दिन पुगेका दलका नेताहरूले देश गम्भीर राजनीतिक संकटमा रहेकाले दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संवैधानिक व्यवस्था जोगाउन दुई ठूला दल—एमाले र कांग्रेसबीच सहकार्यको विकल्प नरहेको उल्लेख गरे ।
‘पार्टी फुट्दा र जुट्दाको अनुभूति हामीले भोगेका छौँ । एमालेले पनि भोगेको छ । साना मनमुटाबका कारण पार्टी कमजोर नहोस् भन्ने मेरो आग्रह छ,’ खड्काले भने । उनले महाधिवेशनमा नेतृत्व चयनका विषयमा सचेत रहन सुझाव दिँदै सकेसम्म सहमतिमै, नभए मैत्रीपूर्ण प्रतिस्पर्धाबाट नेतृत्व छान्नुपर्ने धारणा राखे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट शक्तिबीच एकता र सहकार्यबिना देशले निकास नपाउने बताए । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भदौ २३ र २४ पछि एमाले कहाँ छ भन्ने प्रश्न उठिरहेको सन्दर्भ उल्लेख गर्दै त्यसको जवाफ एमालेले आजको विशाल सभामार्फत दिएको दाबी गरे ।
‘धेरैले भनेका थिए—कम्युनिस्टहरू सकिए, दलहरूले अब देश सम्हाल्न सक्दैनन् । तर आजको सहभागिताले त्यो भ्रम चिरेको छ,’ विप्लवले भने । उनले एमालेको देशभक्तिपूर्ण कदमको प्रशंसा गर्दै वर्तमान सरकारलाई अवैधानिक करार गरे र सर्वपक्षीय सरकार गठन गरी निर्वाचनमा जानुपर्ने धारणा अघि सारे । सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र लोसपाका महासचिव सुरेन्द्र झालेले नेकपा एमाले र अध्यक्ष केपी ओलीको खुलेरै प्रशंसा गरेका थिए ।
ओलीको राजनीतिक सन्देशः चुनावबाट एमाले भाग्दैन
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’को नाममा भदौ २४ पछि प्रतिगामी शक्तिले असंवैधानिक रूपमा सरकार बनाएको आरोप लगाए । उनले निकासका लागि संसद् पुनस्र्थापना नै उपयुक्त विकल्प भएको बताए । ओलीले चुनावको जिम्मेवारी पाएको सुशीला कार्की नेतृत्वको सरकारले संवादको सट्टा निषेध, मिडिया ट्रायल र राजनीतिक दलविरोधी षड्यन्त्र गरेको आरोप लगाएका थिए । ‘राहदानी रोक्का गरेर, स्थान हद तोकेर चुनाव हुँदैन,’ उनले भने, ‘तर एमाले चुनावबाट भाग्छ भन्ने नसोचे हुन्छ ।’
भृकुटीमण्डपमा बन्दसत्रः नेतृत्व चयनको निर्णायक चरण
एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुनेछ । करिब २ हजार २ सय ६२ जना प्रतिनिधि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन् । बिहान ८ बजेका लागि बोलाइएपनि त्यो अघि केन्द्रीय कमिटी बैठक बोलाइकाले १२ बजेसम्मका लागि सरेको हो । यो कमिटीले एमालेको विधान संशोधनको प्रस्ताव हलमा लैजाने नेताहरुको आंकलन छ । अहिले पार्टी विधानअनुसार अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव तथा केन्द्रीय कमिटी भने २ सय ५१ सदस्यीय हुनेछ । तर एमाले अध्यक्ष ओलीसहित उनी निकटका नेताहरुले पदाधिकारीको संख्या बढाएर स्थायी कमिटी फेरि राखेर केन्द्रीय कमिटीको संख्या पनि बढाउने तयारी छ ।
शुक्रबारको सचिवालय बैठकमा यो विषयले प्रवेश पाएपनि यसलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरुले विरोध गरेपछि अहिलेलाई केही नचलाउने निर्णय गरिएको थियो ।
ओली–पोखरेल प्रतिस्पर्धा लगभग निश्चित
यसपटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा लगभग निश्चित देखिएको छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको बताइन्छ । ‘ईश्वर–विद्या’ प्यानलको चर्चा महाधिवेशनअघि नै सुरु भइसकेको थियो ।
पार्टी नेतृत्वले सहमतिमै नेतृत्व टुंग्याउने प्रयास भइरहेको बताए पनि नेताहरूका अनुसार त्यो सम्भावना न्यून बन्दै गएको छ । सहमति जुट्न नसके विद्युतीय भोटिङ मेसिनमार्फत निर्वाचन गर्ने तयारी छ, जसको परीक्षण पार्टी कार्यालय च्यासलमा भइसकेको छ ।
प्यानल राजनीति र पदाधिकारी व्यवस्थापनको सकस
उद्घाटन सत्र सकिएलगत्तै ओली समूहका नेताहरू अध्यक्ष ओलीको अस्थायी निवास गुण्डुमा छलफलमा जुटेका थिए भने पोखरेल समूह अलग्गै रणनीति बनाउन व्यस्त छ । अध्यक्षसहित अधिकांश पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढेसँगै दुवै पक्ष प्यानल निर्माणमा सक्रिय छन् । ओली पक्षबाट महासचिवमा हालका महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको सशक्त दाबी छ । उता पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना महासचिवमा उठ्नेगरी तयारी गरेका छन् । तर यसबारे दुवै पक्षबाट कुनै औपचारिक धारणा बाहिर ल्याइएको छैन ।
पाण्डे महासचिव बने विष्ट र भट्टराई उपमहासचिवमा अघि सारिने पोखरेल पक्षको तयारी छ । पदाधिकारीमा आकांक्षी धेरै र पद सीमित हुँदा दुवै पक्षलाई उम्मेदवार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सचिव पदमा नयाँ अनुहार ल्याउने सहमति देखिए पनि सीमित पदका कारण अन्तिम सूची बनाउन सकस भइरहेको नेताहरूको भनाइ छ ।


