धनगढी । बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन् । पहिला यहाँका दस वटै वडामा रहेका दस स्वास्थ्य संस्थामा एक जना अहेव र दुई जना अनमी र एक कार्यलय सहयोगीले गरी चार जना कर्मचारी थिए ।
असोज ३० गते बसेको कार्यपालिकाको ४९ औँ बैठकले यहाँका ४६ जना करार अस्थायी तथा दैनिक ज्यालादारीमा राखेर काम गर्दै आएका झण्डै ४६ जना स्वास्थ्यकर्मी हटाएसँगै ती स्वास्थ्य संस्था एक जनाको भरमा सञ्चालन हुँदै आएको हो ।
सामान्य स्वास्थ्य सेवा लिनका लागि पहिला यहाँका अधिकांश स्थानीय दुई चार घण्टा पैदल हिँडेर सेवा लिन बाध्य थिए । पछिल्लो समय त्यहि अवस्थालाई मध्यनजगर गर्दै यहाँका स्थानीय सरकारले गाउँ बस्तीमै आधारभूत स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका थिए ।
त्यति बेला यहाँका स्थानीयलाई स्वास्थ्य सेवा लिन पनि निकै सहज भएको थियो । त्यति मात्र होइन कती बेला त स्वास्थयकर्मी सेवाग्राहीको घरमै पुगेर सेवा दिने गरेका थिए ।
अहिले एक स्वास्थ्य संस्थामा एक जना मात्र कर्मचारी भएकाले सेवाग्राहीहरुको घरमा पुगेर सेवा दिन त के यहाँ आउने गरेका सेवाग्राहीलाई समेत समस्या हुने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताए ।
अहिले स्वास्थ्य संस्थामा एक जना मात्र कर्मचारी छु । कसैले घरमा बोलाएपछि अहिले त्यहा जान सकिने अवस्था छैन । यही समस्याका कारण गत कात्तिक १४ गते बुढीगङ्गा नगरपालिका –७ सिमलकोट की अन्दाजी २५ वर्षीया सृजना केसीलाई बिच सडकमा नै सुत्केरी सेवा दिनु पर्ने अवस्था आएको बिष्टले बताए।
प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै यहाँ रहेका करारका सबै कर्मचारी अटाएपछि अहिले नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै नगरपालिका भित्रमा रहेका स्वास्थ्य संस्थालाई बन्द नहुने गरी पछिल्लो समय पालिकाले एक एक जना कर्मचारी रहने गरी सबै स्वास्थ्य संस्थामा मिलान गरेको बुढीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कर्मचारी हटाएपछि यहाँका स्वास्थ्य संस्था समेत बन्द हुने अवस्था थियो । तर अहिले ती स्वास्थ्य संस्था बन्द नहुने गरी तत्काल केही कर्मचारी मिलान गरेको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्पराज गिरीले बताए ।

