धनगढी । बंगालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यत मे ३१ वा जुन १ जेठ १७ वा १८ मा केरला आइपुग्छ र जुन १३ जेठ ३० भित्र नेपाल प्रवेश गर्छ । तर, भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक साताअगावै शनिबार मनसुन भित्रियो ।
भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ । ‘केरलामा मनसुन आइसकेकाले अबको ७ देखि १० दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘तर, यति नै गते भित्रिन्छ भन्नचाहिँ सकिँदैन, निरन्तर अवलोकनमै छौं ।’
कहिले नेपाल भित्रिन्छ भनेर सुरुवाती मनसुनको गति र सक्रियताका आधारमा भर पर्ने उनले बताइन् । भारतको मौसम विभागले सञ्चारमाध्यमलाई बताएअनुसार यस वर्ष प्रवेश भइसकेको मनसुन १६ वर्षयता अर्थात् सन् २००९ मे २३ पछि सबैभन्दा चाँडो भित्रिएको हो ।
मनसुन प्रवेशले गर्मीबाट राहत मिले पनि क्षति सुरु भइसकेको छ । हावाहुरीसँगै आएको वर्षाले भारतका विभिन्न ठाउँमा यातायात सेवा प्रभावित बनेका छन् । भारतको मौसम विभागले केरलामा मनसुन प्रवेश गरेसँगै राजधानी नयाँ दिल्लीसहितका स्थानमा भारी वर्षा भएको र सोमबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन भनेको छ ।
२० लाख नागरिक प्रभावित हुन सक्नेपाँच दिनअघि जल तथा मौसम विभागले ‘राष्ट्रिय मनसुन फोरम २०८२’ कार्यक्रममा सार्वजनिक गरेको थियो । मनसुन ऋतुको हावापानी प्रक्षेपणअनुसार यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण छ । विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुप आकलन र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा प्रक्षेपण गरिएको हो ।
कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहने अनुमान छ । सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
यस वर्षको मनसुनबाट देशभर ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा ३८ हजारभन्दा बढी घरधुरीका दुई लाखभन्दा बढी नागरिक हुन् । त्यसमा पनि मनसुन चाँडै प्रवेश हुने सम्भावना रहेकाले मनसुनजन्य जोखिम व्यवस्थापन तथा न्यूनीकरणमा जोड दिनुपर्ने मौसमविद् मानन्धरले सुझाव दिएकी छन् ।


